इटहरी। हिजोआजको समयमा पनि कसैको घर फुसले छाएको होला भन्ने कुरा धेरैलाई पत्याउन गाह्रो पर्न सक्छ। तर उदयपुरको चौदण्डीगढी नगरपालिका–४, संगमटोलमा पुग्दा आधुनिक समयको चमकभन्दा निकै टाढाको एउटा परिवारको कथा भेटिन्छ, जहाँ वर्षा आउनु भनेको घरभित्र पानी नपसोस् भनेर ओत खोज्ने संघर्ष सुरु हुनु हो।

दिलबहादुर विकको घर वर्षौंदेखि फुस, बाँस र माटोको भरमा उभिएको थियो। समयसँगै घर जीर्ण हुँदै गयो। वर्षा हुँदा पानी छेक्ने छानोभन्दा पनि घरभित्र चुहिने पानी रोक्ने चिन्ता बढी हुन्थ्यो। पानी परेको बेला गुन्द्री ओढेर पानीबाट जोगिनुपर्ने अवस्था विकको परिवारका लागि सामान्यजस्तै बनेको थियो। चौदण्डीगढी नगरपालिका–४, संगमटोलका अत्यन्तै विपन्न दलित समुदायका विकको परिवारमा श्रीमती र चार वर्षीया एक छोरी छन्। कमजोर आर्थिक अवस्थाका कारण सुरक्षित घर बनाउने सपना पनि उनका लागि टाढाको विषयजस्तै थियो। तर अहिले विकको परिवारको जीवनमा आशाको नयाँ सुरुवात भएको छ। श्रम संस्कृति पार्टीका स्थानीय श्रमदाताहरूको सक्रिय सहभागितामा विकका लागि तीन कोठे घर निर्माण सुरु गरिएको छ। बाँस, ट्रस्ट र माटो प्रयोग गरेर निर्माण भइरहेको घरका लागि आवश्यक टिन भने चौदण्डीगढी नगरपालिकाले उपलब्ध गराएको स्थानीय समाजसेवी तथा श्रम संस्कृति पार्टीका नेता गौतम राईले जानकारी दिए। विकका दाजुभाइमध्ये केहीलाई यसअघि दलित आवास कार्यक्रममार्फत घर निर्माण गरिदिइएको भए पनि उनको परिवार भने लामो समयदेखि जीर्ण फुसको घरमै बस्दै आएको थियो।

घर निर्माणको काम सुरु भएपछि विकको परिवारमा खुसी थपिएको छ। वर्षाको पानी रोक्न गुन्द्री ओढ्नुपर्ने बाध्यता अब विस्तारै इतिहास बन्ने आशा पलाएको छ। यो केवल एउटा घर निर्माणको कथा होइन, आफ्नै छानोमुनि सुरक्षित भएर बस्न पाउने एउटा विपन्न परिवारको लामो प्रतीक्षामा समुदायले दिएको साथ र आशाको कथा पनि हो।