इटहरी। मोरङको कानेपोखरी–४ को पौडेल बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्मले अहिले सिउँडी फलको व्यावसायिक उत्पादन गरिरहेको छ । किसान विष्णु पौडेलले सिउँडी फलमा सफलता प्राप्त गर्नुभएको हो । 

२०७८ सालभन्दा अघि पौडेलले २४ वर्ष हार्डवेयर व्यवसाय गर्नुभयो । दैनिक सिमेन्ट रड तथा निर्माण सामग्रीको ठुलो कारोबार हुन्थ्यो । व्यापार फस्टाइरहेको थियो । बजार विस्तारसँगै हरेक चोकमा हार्डवेयर पसल खुल्न थाले । बजारको चहलपहल व्रmमशः घट्दै गयो । यसैबिच २०७७ सालमा कोरोना महामारीले व्यापारमा ठुलो मन्दी ल्यायो । त्यसपछि २०७८ सालमा उहाँले फलाम, रड, सिमेन्ट र हार्डवेयर व्यवसायलाई बिट मार्दै आफ्नै माटोसँग भविष्य खोज्ने निर्णय गर्नुभयो । विष्णुका बुवा परम्परागत कृषि र पशुपालनकै आम्दानीबाट बर्सेनि अलिकति जग्गा जोड्नुहुन्थ्यो । बुवाले सक्नुभयो भने म पनि सक्छु भन्ने आत्मविश्वासले कृषिमा होमिएँ । आफ्नै चार बिघा जग्गामध्ये अहिले एक बिघामा ‘ड्र्यागन फ्रुट’ १० कट्ठामा केरा, १० कट्ठामा घाँस र बाह्रमासे कटहर तथा दुई बिघामा परम्परागत धान खेती गरिरहेका पौडेल बिहानदेखि साँझसम्म खेतबारीमै काम गर्नुहुन्छ । दुई छोरा अध्ययनरत छन् भने श्रीमती भूमिकाले भरपुर साथ दिनुभएको छ । फार्ममा दुई जनाले रोजगारी पाएका छन् । जसमा एक जना पूर्णकालीन छन् । सफलताको बाटो भने सहज भएन । सुरुमा बाख्रापालन गर्नुभयो तर अपेक्षित प्रतिफल आएन । त्यसपछि सजिवन (मोरिङ्गा) र कश्मीरी बयर खेतीको परीक्षण गर्नुभयो । मोरिङ्गा र बयर खेतीले साथीभाइ बढाउन मात्र सकियो ।

आर्थिक सफलता दिन सकेनन् । त्यसपछि तरकारी खेतीमा लाग्नुभयो । उत्पादन राम्रो भए पनि बजार मूल्य पाउनै नसकिने । गाउँ गाउँ डुलाएर बिक्री गर्नुपर्ने, व्यापारीलाई दिँदा आँखैअगाडि किलो मै १०/१५ रुपियाँसम्म नाफा लिएर बेच्दा पनि किसानले समयमा पैसा नपाउने । बजारको अस्वस्थ प्रतिस्पर्धाले उहाँलाई निराश बनायो तर उहाँ थाक्नुभएन । २०८० सालमा छ वटा माउ गाई पाल्न थाल्नुभयो । दुधको व्यापार असाध्यै राम्रो भयो । गोबर मल खेतमा हालिनसक्नु भयो । मल सदुपयोग गर्ने उद्देश्यले ५० पोलमा ड्र्यागन फ्रुटको परीक्षण खेती सुरु गर्नुभयो । यही निर्णय उहाँको जीवनको टर्निङ प्वाइन्ट बन्यो । तीन वर्षको अवधिमा उहाँले लगातार ड्र्यागन खेती विस्तार गरिरहनुभएको छ । बजारमा चार सय रुपियाँ किलो हुँदा पौडेलले प्रतिकिलो २५० रुपियाँमै बेचिरहनुभएको छ । उहाँले भन्नुभयो, “फल बेच्न व्यापारी खोजिरहनु परेको छैन । उपभोक्ता सिधैँ बारीमा आउनुहुन्छ । बिहान टिप्यो अनि ग्राहकलाई खबर ग¥यो ।” उहाँले माग बढिरहेकाले खेती विस्तार गरिरहेको बताउनुभयो ।   एक बिघामा फैलिएको ड्र्यागन बगैँचाबाट गत वर्ष १४ पटक उत्पादन लिनुभयो । एकै लटमा सात सय किलोसम्म फल टिपिएको उहाँ बताउनुहुन्छ । गत वर्ष करिब साढे तीन लाख रुपियाँको ड्र्यागन बिक्री गरेका पौडेलले यस वर्ष आठ लाख रुपियाँको बिक्री गर्ने लक्ष्य रहेको सुनाउनुहुन्छ । उहाँले ड्र्यागन विस्तारलाई प्राथमिकता दिनुभएको छ । कृषि तथा पशुपालनमा हालसम्म उहाँले करिब ३० लाख रुपियाँ लगानी गरिसक्नुभएको छ । पौडेल भन्नुहुन्छ, “बल्ल लगानीको प्रतिफल देखिन थालेको छ ।