इटहरी : भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । अहिले उनी जुट काटेर डाँठबाट रेसा निकाल्न व्यस्त छन् । उनको खेतमा दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् ।

मण्डलका अनुसार जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत–वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने तथा झारपात हटाउने काम गर्नुपर्छ । त्यसपछि जुट काटेर करिब एक सातासम्म पानीमा डुबाएर राखिन्छ । डाँठबाट रेसा निकालेर घाममा सुकाएपछि भोजा बनाएर मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ । मेहनत धेरै भए पनि पछिल्लो समय जुटको मूल्य राम्रो भएकाले आम्दानीसमेत बढेको मण्डल बताउँछन् । उनले वार्षिक १५ देखि २० क्विन्टलसम्म जुट उत्पादन गर्दै आएका छन् । यसबाट वार्षिक दुई लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले जानकारी दिए । तयार भएको जुट बिक्रीका लागि बजारको समस्या नरहेको उनको भनाइ छ । स्थानीय व्यापारीले खेतमै पुगेर जुट खरिद गर्ने गरेका छन् । जुटको मूल्य वृद्धि हुनुका साथै उद्योगबाट माग बढेपछि सुनसरीमा किसानको जुटखेतीप्रति आकर्षण बढेको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा जुटखेतीको क्षेत्रफलसमेत वृद्धि भएको छ । देवानगञ्ज गाउँपालिका–६ का रमेश यादव भने अरूको खेतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । उनी बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म जुटको रेसा निकाल्ने काम गर्छन् । यसबापत उनले दैनिक ६ सय रुपैयाँ ज्याला पाउने गरेका छन् । सोही ठाउँका किसान वीरेन्द्र मण्डलले १० कट्ठा क्षेत्रफलमा जुटखेती गरेका छन् । अहिले जुट निकाल्ने काम तीव्र रूपमा भइरहेकाले उनले एक जना मजदुरलाई ज्यालामा काममा लगाएका छन् । ‘एक कट्ठामा दुईदेखि तीन मनसम्म जुट उत्पादन हुन्छ । हाल प्रतिमन पाँच हजार पाँच सय रुपैयाँसम्ममा जुट बिक्री भइरहेको छ’, उनले भने । मण्डलका अनुसार जुटको बीउ इटहरीस्थित जुट अनुसन्धान केन्द्र तथा भारतबाट ल्याउने गरिएको छ । जुट अनुसन्धान केन्द्र इटहरीका संयोजक सन्तोष त्रिपाठीका अनुसार पूर्वी नेपालका अधिकांश किसानले केन्द्रबाटै बीउ तथा प्राविधिक सहयोग लिने गरेका छन् । केही किसानले भने भारतबाट बीउ खरिद गर्ने गरेका छन् ।

विगतमा नेपाली जुट उद्योगलाई आवश्यक पर्ने करिब ८५ प्रतिशत कच्चा जुट बङ्गलादेश र भारतबाट आयात हुने गरेको थियो । पछिल्लो समय स्थानीय उत्पादन बढ्दै गएपछि आयात घट्न थालेको छ । यही कारण यस वर्ष किसानले उल्लेख्य क्षेत्रफलमा जुटखेती गरेको केन्द्रको भनाइ छ । किसानलाई जुटखेतीतर्फ आकर्षित गर्न अनुसन्धान केन्द्रले झारपात नियन्त्रण तथा रेसा निकाल्ने प्रविधिमा सहयोग गर्दै आएको छ । जुटखेतीमा झारपात प्रमुख समस्या भएकाले ‘सनराइज’ र ‘एजिल’ विषादी प्रयोग गरी नियन्त्रण गर्ने गरिएको त्रिपाठीले जानकारी दिए । जुट कुहाउने तथा धुने कामलाई सहज बनाउन अनुसन्धान केन्द्रले डिजेल तथा विद्युतबाट सञ्चालन हुने मेसिनसमेत प्रयोगमा ल्याएको छ । यी मेसिनबाट रेसा छुट्याउने र धुने काम सहज भए पनि मेसिन प्रयोग गर्दा जुटको डाँठ धुलो हुने भएकाले अधिकांश किसानले प्रयोग नगर्ने गरेको त्रिपाठीले बताए । जुट अनुसन्धान केन्द्रलाई वार्षिक एक करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन हुँदै आएको छ । पछिल्लो समय कोशी प्रदेश सरकारले पनि जुटखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ । थप सरकारी योजना तथा प्रोत्साहन उपलब्ध गराउन सके आगामी वर्षमा जुट उत्पादन अझै बढ्ने केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सुनसरीमा एक हजार ३०८ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो । आर्थिक वर्ष २०८२/८३ मा यो क्षेत्रफल बढेर एक हजार ३३४ हेक्टर पुगेको छ । जुटको मूल्य र माग बढेसँगै जिल्लामा किसानको आकर्षणसमेत बढेको श्रेष्ठले बताए । सुनसरीका देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी, हरिनगर र इनरुवालगायत क्षेत्रमा बढी जुटखेती हुँदै आएको छ ।