इटहरी : मिटरब्याजबाट पीडित किसान तथा मजदुरले जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिएका छन् । किसान मजदुर आन्दोलन संघर्ष समितिको आयोजनामा सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिइएको हो । समितिका अध्यक्ष लालबहादुर मगरको नेतृत्वमा करिब ७० जना सहभागी भएको धर्नामा मिटरब्याजविरुद्ध नाराबाजी गरिएको थियो ।
प्रदर्शनकारीले मिटरब्याजमा संलग्न साहुलाई कारबाही गर्नुपर्ने, कालोसूचीको व्यवस्था बन्द गर्नुपर्ने, पक्राउ पुर्जी खारेज गर्नुपर्ने, भूमाफियामाथि कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्नेलगायत माग राखेका थिए । ‘मिटरब्याज साहुलाई कारबाही गर’, ‘कालोसूची बन्द गर’, ‘पक्राउ पुर्जी खारेज गर’, ‘भूमाफियालाई कारबाही गर’, ‘पीडितलाई न्याय देऊ’ र ‘भूमिहीन एक हौँ’ जस्ता नारा लगाउँदै उनीहरूले धर्ना दिएका थिए । जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएपछि प्रदर्शनकारीको टोली जिल्ला प्रहरी कार्यालय झापाको मुख्य गेटमा पुगेको थियो । त्यहाँ पनि केहीबेर मिटरब्याजविरुद्ध नाराबाजी गर्दै उनीहरूले आफ्ना मागप्रति ध्यानाकर्षण गराएका थिए ।


