इटहरी। पिङवा खोला कलकलाउँदै बगिरहेको छ । छेउमै रहेको बेंसीको फाँटमा मंसिरे धानका बाला हावासँगै लहराइरहेका छन् । टाढाबाट हेर्दा खेत सुनौलो देखिन्छ । मिहिनेतले फलाएको धान घर भिर्त्याउने किसानका आँखामा पनि त्यही सुनौलो भविष्यको सपना छ । तर, यही सपनाको बीचमा पछिल्ला वर्षदेखि एउटा नयाँ चुनौती थपिएको छ-बाँदरको आतंक।

तेह्रथुमको छथर गाउँपालिका–५ ओख्रेमा पर्ने पिङवा खोला दोभानको खेत लामो समयदेखि स्थानीय किसानका लागि अन्न उत्पादनको महत्वपूर्ण क्षेत्र हो । खोलाको पानी, उर्वर बेंसी जमिन र अनुकूल वातावरणका कारण यहाँ धान खेती राम्रो हुने गरेको छ । एउटै जमिनमा दुई सिजनसम्म खेती गर्न सकिने भएकाले यो क्षेत्र किसानका लागि अझ महत्वपूर्ण मानिन्छ । पिङवा खोला बेंसी खेतको छेउबाट निरन्तर बगिरहन्छ । खोलाको पानी र उर्वर जमिनको सदुपयोग गर्दै स्थानीय किसानहरूले पुस्तौँदेखि यहाँ धान खेती गर्दै आएका छन् । वर्षायाममा पर्याप्त पानी र उर्वर माटोका कारण धान उत्पादन राम्रो हुने गरेको किसानहरू बताउँछन्। धान रोप्ने समयदेखि गोडमेल, सिँचाइ र कटानीसम्म किसानको मिहिनेत निरन्तर चलिरहन्छ । बिहानै खेततर्फ लाग्ने किसान, हिलोमा डुबेका हातखुट्टा र हरियो हुँदै विस्तारै सुनौलो बन्ने धानका बाला पिङवा खोला दोभानको बेंसी खेतको पहिचानजस्तै बनेका छन् । स्थानीय किसान खिलबहादुर तिगेलाका लागि यो खेत केवल अन्न उत्पादन गर्ने ठाउँ मात्र होइन, परिवारको जीवन धान्ने आधार पनि हो । पुस्तौंदेखि खेतीसँग जोडिएको जमिनमा पसिना बगाएर उत्पादन गरेको धानले घरको खाद्यान्न आवश्यकता पूरा गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । आफ्नै खेतमा उत्पादन हुने अन्नले किसानलाई आत्मनिर्भर बनाउनुका साथै वर्षभरको खाद्यान्न जोहो गर्न सहयोग पु‍र्याउँदै आएको छ ।त्यस्तै युनन्द तिगेला पनि यही खेतमा धान खेती गर्दै आएका किसान हुन्। खोलाको पानी नजिकै हुनु र बेंसीको जमिन उर्वर भएकाले यहाँ खेती गर्न सहज हुने उनी बताउँछन् । मौसमले साथ दिएमा राम्रो उत्पादन लिन सकिने भएकाले पिङवा खोला दोभान स्थानीय किसानका लागि महत्वपूर्ण कृषि क्षेत्र बनेको छ । उत्पादनको सम्भावना राम्रो भए पनि पछिल्लो समय बाली जोगाउनु भने चुनौतीपूर्ण बन्दै गएको किसानहरूको अनुभव छ ।चन्द्रबहादुर तिगेलाका लागि पनि पिङवा खोला दोभानको खेतसँग लामो समयदेखिको सम्बन्ध छ । खेतीमा मिहिनेत धेरै लागे पनि आफ्नै जमिनमा उत्पादन भएको अन्न घरमा भित्र्याउँदाको खुसी छुट्टै हुने उनी बताउँछन् । उनका अनुसार मंसिरे धानमा २५ पाथी बिउबाट करिब ९० देखि ९५ मुरीसम्म उत्पादन हुँदै आएको छ । उत्पादनको हिसाबले निकै राम्रो सम्भावना भएको यो खेतमा अहिले भने बाली जोगाउनु नै मुख्य चुनौती बनेको छ ।

पिङवा खोला दोभानको अर्को विशेषता यहाँ हुने दुई सिजनको खेती हो । पानीको उपलब्धता र बेंसीको उर्वर जमिनका कारण किसानले एउटै खेतबाट वर्षमा दुईपटकसम्म उत्पादन लिन सक्ने अवस्था छ । यसले किसानको खाद्यान्न आवश्यकता पूरा गर्नुका साथै आम्दानीको स्रोतसमेत बढाएको छ । तर, पछिल्लो वर्षदेखि बाँदरको हैरानी बढ्दै गएपछि राम्रो उत्पादन हुने कतिपय खेतसमेत छाड्नुपर्ने अवस्था आउन थालेको किसानहरू बताउँछन् । वर्षभर मिहिनेत गरेर हुर्काएको बाली पाक्ने बेला बाँदरको हुल खेतमा पस्न थालेपछि किसानहरू समस्यामा परेका छन्। बाँदरले बाली नष्ट गर्ने, धानका बाला बिगार्ने तथा पाक्न लागेको अन्नमा क्षति पुर्‍याउने भएकाले किसानलाई निरन्तर निगरानी गर्नुपर्ने अवस्था छ । उत्पादन राम्रो भए पनि बाँदरबाट बाली जोगाउन नसकिए मिहिनेत र लगानी खेर जाने चिन्ता किसानमा छ । धान पाक्ने समय किसानका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । यही समयमा बाँदरको समस्या बढ्ने भएकाले किसानहरू पालैपालो खेत कुर्न बाध्य छन् । घरको काम, अन्य खेतीपाती र दैनिक जीवनका जिम्मेवारीबीच पनि परिवारका सदस्य मिलेर खेतमा पहरा दिनुपर्ने अवस्था रहेको चन्द्रबहादुर बताउँछन् । घण्टौँसम्म खेतको छेउमा बसेर बाली हेर्नुपर्ने बाध्यताले किसानको श्रम र समय दुवै बढाएको छ । किसानहरूका अनुसार गत वर्षदेखि बाँदरको हैरानी झन् बढेको हो । पहिले सहज रूपमा खेती गर्दै आएको जमिनमा अहिले बाली जोगाउन थप मिहिनेत गर्नुपर्ने अवस्था आएको छ । राम्रो उत्पादन हुने खेतमा समेत बाँदरको समस्या बढेपछि कतिपय किसान खेतीबाटै पछि हट्ने अवस्थामा पुगेका छन् । यसले उर्वर जमिन बाँझिने जोखिमसमेत बढाएको छ । पिङवा खोला दोभानको कथा ग्रामीण कृषिको सम्भावना र चुनौती दुवैसँग जोडिएको छ । एकातिर खोलाको पानी, उर्वर जमिन र दुई सिजन खेती गर्न सकिने सम्भावना छ भने अर्कोतिर बाँदरको आतंक, बढ्दो उत्पादन लागत, श्रमिक अभाव र युवापुस्ताको गाउँबाट बाहिरिने क्रमले कृषि क्षेत्रमा चुनौती थपिरहेको छ ।

किसानको भनाइमा उत्पादन गर्न सक्ने क्षमता हुँदाहुँदै बाली नै सुरक्षित राख्न नसक्ने अवस्था आयो भने कृषि पेशाप्रतिको आकर्षण घट्दै जान सक्छ । त्यसैले बाँदरबाट हुने क्षति न्यूनीकरण गर्न स्थानीय तह र सम्बन्धित निकायले प्रभावकारी उपाय खोज्नुपर्ने किसानहरूको अपेक्षा छ । पिङवा खोला दोभानको बेंसी खेतमा अहिले मंसिरे धानका बाला लहलहाइरहेका छन् । ती बाला किसानको वर्षभरको पसिना, आशा र भविष्यसँग जोडिएका छन् । खोलाको कलकलसँगै हावामा झुलिरहेका धानका बाला हेर्दा समृद्धिको सुन्दर दृष्य देखिन्छ । तर, त्यो तस्वीरलाई जोगाउन किसानले अहिले आफ्नै खेतमा अर्को संघर्ष गरिरहेका छन् – बाली जोगाउने संघर्ष । प्राकृतिक स्रोत, उर्वर जमिन र किसानको मिहिनेतलाई उचित संरक्षण र सहयोग मिल्न सके पिङवा खोला दोभानजस्ता क्षेत्रले स्थानीय खाद्यान्न उत्पादनमा ठूलो योगदान दिन सक्छन् । अहिले किसानको एउटै चाहना छ–आफ्नो पसिनाले फलाएको धान सुरक्षित रूपमा घर भित्र्याउन पाउँ । पिङवा खोलाको पानी निरन्तर बगिरहेछ, खेतमा धानका बाला सुनौलो हुँदैछन् र किसानहरू कटानीको प्रतीक्षामा छन् । तर, उनीहरूको सुनौलो सपना पूरा हुनुअघि बाँदरको हैरानीबाट आफ्नो बाली जोगाउनुपर्ने बाध्यता छ ।