इटहरी : धनकुटामा हाइब्रिड तथा उन्नत बीउको प्रयोग बढ्दै गएपछि परम्परागत रैथाने बीउ खेतीबाट हराउने क्रम बढेको छ। स्थानीय जातका बीउसँगै तिनमा निहित कृषि ज्ञान र आनुवंशिक विविधता जोगाउन धनकुटा नगरपालिकाले ‘जिन बैंक’मार्फत संरक्षण अभियान थालेको छ।
धनकुटा, छथरजोरपाटी–४ मार्सेका बुद्धिकान्त घिमिरेले बाल्यकालदेखि नै परिवारमा खेतीका लागि आफैँले बीउ छनोट गरेर सुरक्षित राख्ने चलन देख्दै आएका थिए। मकै, कोदो, गहुँ, फापर, सिमी, गहत, बोडी, फर्सी र तिललगायत बालीको उत्पादनबाट राम्रो र स्वस्थ देखिएका बोटका बीउ छुट्याएर अर्को वर्षका लागि राखिन्थ्यो। घिमिरेलाई आमा र हजुरआमाले ठूलो रातो कोदोका राम्रा कपना, धानका राम्रा बाला, सठिया मकैका भरिला घोगा, सिमीका राम्रा कोसा, पोटिला बोडीका दाना तथा फर्सीका स्वस्थ बीउ छुट्याएको अझै सम्झना छ। लेकबाट मकैसँग साटेर ल्याइएका आलुसमेत अर्को वर्ष रोप्नका लागि छानेर राख्ने गरिएको उनी बताउँछन्। उनका अनुसार पहिलोपटक विसं २०२५ तिर उन्नत गहुँको ‘लेर्मा–५२’ जात प्रयोगमा आएको थियो। त्यसपछि अन्न, तरकारी, दलहन, तेलहन, गेडागुडी तथा लहरेबालीमा विभिन्न उन्नत र हाइब्रिड जात विस्तार भए। उत्पादन बढाउने उद्देश्यले नयाँ जातको प्रयोग बढ्दै गएपछि स्थानीय तथा परम्परागत बीउ भने खेतीबाट विस्थापित हुन थालेका छन्। कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र राना रैथाने जात हराउँदै जाँदा त्यससँग जोडिएको परम्परागत कृषि ज्ञान र आनुवंशिक विशेषता गुम्ने जोखिम रहेको बताउँछन्। उनका अनुसार बढी उत्पादनको अपेक्षामा किसान हाइब्रिड बीउतर्फ आकर्षित भइरहेका छन्। धनकुटामा गोलभेंडामा करिब ९५ प्रतिशत, काउली तथा बन्दामा ९० प्रतिशत, मकैमा ३० प्रतिशत र धानमा २५ प्रतिशतसम्म हाइब्रिड बीउ प्रयोग भइरहेको रानाले बताए। कोदोमा भने अझै पूर्णरूपमा रैथाने बीउकै प्रयोग भइरहेको उनको भनाइ छ।
हाइब्रिड र उन्नत बीउको प्रकृति फरक हुने भन्दै रानाले किसानलाई त्यसबारे जानकारी हुनुपर्ने बताए। हाइब्रिड बीउबाट उत्पादन राम्रो लिन सकिए पनि त्यसबाट उत्पादित बीउ अर्को वर्ष पुनः प्रयोग गर्दा उस्तै गुणस्तरको उत्पादन नहुने उनको भनाइ छ। मूल तथा उन्नत बीउ भने पुनः प्रयोग गर्न सकिने उनले बताए। रैथाने बीउ हराउँदै गएपछि संरक्षणका लागि धनकुटा नगरपालिकाले जिन बैंक स्थापना गरेको छ। नगरपालिकाको परिसरमा रहेको जिन बैंकका लागि स्थानीय रूपमा खेती हुँदै आएका तर पछिल्लो समय प्रयोग घटेका धान, मकै, गहुँ, कोदो, दलहन, तेलहन तथा तरकारीका विभिन्न जातका बीउ संकलन भइरहेको छ। धनकुटा नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) को सहकार्यमा हुसाडेक नेपालले गत चैतदेखि रैथाने बीउको खोजी तथा संकलन गर्दै आएको छ। हालसम्म बेलगुटी, बासमती, तौलीलगायतका रैथाने धानका जातसहित फर्सी, सिमी, बोडी, घोरेमास, गहत, फिलुङ्गे, सौंफ, तोरी, चमसुर, गहुँ, मकै, आलस, रातो तथा कालो दाल, भटमास, घिरौँला, काक्रा, सेतो–रातो तिल, बकुल्ला, रातो–सेतो मकै, माझी बोडी र विभिन्न रैथाने कोडो गरी २५ भन्दा बढी प्रजातिका करिब ७० जातका बीउ संकलन भइसकेका छन्। हुसाडेक नेपाल धनकुटाका अध्यक्ष खेमराज थापा रैथाने बीउ तत्काल संरक्षण गर्न नसके केही वर्षपछि कतिपय जात खोज्दा पनि नभेटिने अवस्था आउन सक्ने बताउँछन्। किसानसँग बाँकी रहेका पुराना बीउ खोजेर संकलन गर्ने क्रममा गाउँबस्तीका साथै साप्ताहिक तथा पाक्षिक हाटबजारसमेत पुग्ने गरिएको उनले बताए। हाटबजारमा किसानले ल्याएका कृषि उत्पादनमध्ये स्थानीय र पुराना जात पहिचान गरी त्यहीँबाट बीउ संकलन गर्ने गरिएको थापाले बताए। केही रैथाने बाली किसानले लगाउनै छाडिसकेकाले खोजी गर्दा पनि बीउ पाउन कठिन हुन थालेको उनको भनाइ छ। बागबानी अनुसन्धान केन्द्र, मालेपाटन पोखराका प्रमुख कृषि वैज्ञानिक डा. गोविन्द तिम्सिना रैथाने बीउको संरक्षणलाई पुराना जात जोगाउने विषयमा मात्र सीमित गर्न नहुने बताउँछन्। कृषि जैविक विविधता, खाद्य सुरक्षा र पोषणका दृष्टिले स्थानीय बीउको विशेष महत्व रहेको उनको भनाइ छ।
स्थानीय वातावरणमा पुस्तौँदेखि अनुकूलित हुँदै आएका परम्परागत जातमा रोगकीरा, मौसमी प्रतिकूलता तथा वातावरणीय दबाब सामना गर्ने क्षमता हुन सक्ने तिम्सिना बताउँछन्। भविष्यमा नयाँ तथा अनुकूल जात विकास गर्न यस्ता पुराना जातका आनुवंशिक स्रोत महत्वपूर्ण हुने उनको भनाइ छ। उनका अनुसार अहिले कम उत्पादन दिने वा बजारमा कम माग भएका जात भविष्यमा जलवायु परिवर्तन, नयाँ रोग तथा वातावरणीय परिवर्तनसँग जुध्न उपयोगी हुन सक्छन्। स्वादका कारण किसानले जोगाएको कुनै मकैमा रोग प्रतिरोधी गुण भेटिन सक्छ भने अहिले कम उत्पादन हुने कुनै धानमा खडेरी सहन सक्ने क्षमता हुन सक्छ। स्थानीय परिस्थितिमा पुस्तौँदेखि टिकेको कोदोको कुनै जातसमेत भविष्यका लागि महत्वपूर्ण आनुवंशिक स्रोत बन्न सक्ने उनले बताए। धनकुटा नगरपालिकामा सुरु गरिएको जिन बैंकलाई स्थानीय तहमा कृषि जैविक विविधता संरक्षणको नमुना बनाउन सकिने उनले बताए।तर संकलित बीउलाई दीर्घकालीन रूपमा वैज्ञानिक ढंगले संरक्षण गर्ने चुनौती कायमै छ। हुसाडेक नेपालका अध्यक्ष थापाका अनुसार तत्कालका लागि किसानबीच बीउ आदानप्रदानको प्रणाली विकास गर्ने तयारी भइरहेको छ। किसानलाई बीउ उपलब्ध गराएर त्यसको दोब्बर परिमाणमा पुनः बीउ फिर्ता गर्ने मोडलमा काम गर्ने योजना रहेको उनले बताए। यसबाट किसानकै खेतबारीमा बीउ पुनः उत्पादन र संरक्षण गर्न सकिने अपेक्षा गरिएको छ। धनकुटा नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारी जिन बैंकलाई एउटा भवनभित्र बीउ भण्डारण गर्ने संरचनामा मात्र सीमित नगरी किसानका खेतबारी र बगैँचासम्म विस्तार गर्ने योजना रहेको बताउँछन्। नगरपालिकाको खाम्बेला क्षेत्रमा कोदो खेतीसम्बन्धी अनुसन्धानसमेत भइरहेको उनले जानकारी दिए। उनका अनुसार दीर्घकालीन रूपमा जिन बैंक सञ्चालन गर्न बीउ संकलनपछि उचित ढंगले सुकाउने, तापक्रम र चिस्यान नियन्त्रण गरेर भण्डारण गर्ने, अंकुरण क्षमता परीक्षण गर्ने, निश्चित अवधिमा पुनः उत्पादन गर्ने, आनुवंशिक शुद्धता कायम राख्ने र व्यवस्थित अभिलेख राख्ने काम आवश्यक हुन्छ। आकस्मिक क्षतिबाट जोगाउन एउटै बीउको नमुना अर्को सुरक्षित स्थानमा राख्ने व्यवस्था पनि आवश्यक रहेको उनले बताए।
जिन बैंकमा कुन किसानबाट कुन बीउ प्राप्त भयो, त्यसको स्थानीय नाम, उत्पादन क्षेत्र, खेती हुँदै आएको अवधि, उत्पादन समय, स्वाद, आकार, रोग प्रतिरोधी क्षमता, खडेरी सहन सक्ने क्षमता तथा दाना वा फलका विशेषतासहितका विवरण अभिलेख गरिने योजना छ।बीउको नमुना र तस्बिरसँगै किसानको विवरण, संकलन मिति तथा भौगोलिक अवस्थिति डिजिटल रूपमा अभिलेख गर्न सके जिन बैंक भविष्यको कृषि अनुसन्धानका लागि महत्वपूर्ण स्रोत बन्न सक्ने थापा बताउँछन्। नगरपालिकाले जिन बैंकको अवधारणालाई समुदायस्तरसम्म विस्तार गर्दै स्थानीय बीउ बैंक स्थापना गर्ने योजना पनि अघि बढाएको छ। आर्थिक विकास शाखा प्रमुख अधिकारीका अनुसार कोरोना महामारीका बेला बाहिरबाट बीउ ल्याउन नसक्दा किसानले समस्या भोगेपछि स्थानीयस्तरमै बीउको स्रोत सुरक्षित राख्नुपर्ने आवश्यकता अझ प्रस्ट भएको हो। नगरपालिकाले समुदायस्तरमा बीउ बैंक स्थापना र सञ्चालनका लागि किसानलाई आवश्यक ज्ञान, सीप र तालिम दिने कामसमेत अघि बढाएको जनाएको छ। कृषि अधिकारीहरू आधुनिक तथा हाइब्रिड जातको प्रयोग उत्पादन वृद्धि गर्न उपयोगी भए पनि त्यसको विस्तारसँगै स्थानीय आनुवंशिक विविधता हराउने जोखिमप्रति सचेत हुनुपर्ने बताउँछन्। हुसाडेक नेपालले व्यवस्थापन गर्दै आएको ‘सीड जिन बैंक’ आगामी असोजदेखि धनकुटा नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको अध्यक्ष थापाले जानकारी दिए। त्यसपछि संकलित रैथाने बीउको संरक्षण, पुनः उत्पादन तथा समुदायस्तरमा वितरणको जिम्मेवारी नगरपालिकाले लिने तयारी गरेको छ।


