इटहरी। पूर्वी नेपालका लिम्बूबहुल क्षेत्रमा विगतमा प्रमुख खाद्यान्न बालीका रूपमा व्यापक रूपमा कोदो खेती गरिन्थ्यो। तर किसानहरू आम्दानीमुखी नगदेबालीतर्फ आकर्षित हुँदै गएपछि कोदो खेती क्रमशः घट्दै गएको छ।
पछिल्लो समय विशेषगरी पाँचथर, ताप्लेजुङ, तेह्रथुम र इलामका लिम्बू समुदायले मात्र सीमित क्षेत्रमा कोदो खेती गर्ने गरेका छन्। रोपिने कोदो पनि अधिकांशतः खानका लागि नभई देवतालाई चढाउनका लागि उत्पादन गरिन्छ। आफूले नखाए पनि परम्परादेखि मान्दै आएका देवतालाई कोदो चढाउनुपर्ने लिम्बू सांस्कृतिक परम्परा रहेको छ। लिम्बू संस्कृति अध्येता तथा पूर्व प्राज्ञ सदस्य हरिचन्द्र लावतीका अनुसार सृष्टिकर्ता तागेरानिङवाभुमाङलाई न्वागीका अवसरमा धानसँगै कोदो पनि चढाउनैपर्ने चलन छ। उहाँका अनुसार अन्य देवी–देवताका विशेष पूजामा समेत कोदोबाट बनाइने तोङ्बा अनिवार्य मानिन्छ। यही कारण धेरै गैरलिम्बू किसानले कोदो खेती छाडिसके पनि लिम्बू समुदायले पूर्ण रूपमा छाड्न सकेका छैनन्। संस्कृति अध्येता लावतीले आफूले खानका लागि नभई देवतालाई चढाउनकै लागि गमलामा समेत कोदो रोप्ने गरेको बताउनुभयो। फिदिम–२ साम्दिनका अग्रज किसान भवानी काफ्लेले कोदोको स्थानमा बढी आम्दानी हुने अकबरे खुर्सानी, अदुवा र टमाटर खेती विस्तार हुँदै गएको बताउनुभयो। पर्याप्त जमिन हुँदाहुँदै पनि कोदो खेतीबाट लाभ नहुने भएकाले आफूले ३० वर्षअघि नै कोदो खेती छाडेको उहाँको भनाइ छ।
संस्कृतिक बाध्यता नरहने हो भने लिम्बू किसानले पनि कोदो खेती पूर्ण रूपमा छाड्न सक्ने अवस्था देखिएको छ। खाद्य तथा पोषणका दृष्टिले उच्च क्याल्सियमयुक्त र पौष्टिक मानिने कोदोले किसानबाट उपेक्षा भोगिरहेका बेला सरकारसमेत यसप्रति उदासीन देखिएको छ। कृषि ज्ञान केन्द्र पाँचथरका सूचना अधिकारी केसरबहादुर मग्रातीका अनुसार हाल कोदो खेती प्रवर्द्धनका लागि कुनै सरकारी कार्यक्रम सञ्चालनमा छैन। विगतमा किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षित सहभागिता नपाएपछि लगानी रोकिएको उहाँले बताउनुभयो। लिम्बू संस्कृतिसँग गाँसिएको कोदो खेतीबाट समुदाय टाढिँदै गए र संस्कृति नै कमजोर बन्दै गएमा स्थानीय रैथाने कोदोका जातसमेत लोप हुने जोखिम रहेको जानकारहरू बताउँछन्। यस क्षेत्रमा मुड्के, सेरेना लगायतका स्थानीय जातका कोदो उत्पादन हुने गरेको छ। ग्रामीण क्षेत्रमा संस्कृतिप्रति प्रतिबद्ध लिम्बू किसानले अझै पनि परम्परा जोगाउन कोदो रोप्ने गरेका छन्। तर सहरकेन्द्रित केही लिम्बू समुदायमा भने आफ्नो संस्कृति बिर्सँदै जाने क्रम बढ्दो छ। किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य डा. मधुराज केरुङका अनुसार पुँजीवादी खेती प्रणाली र बजारमुखी कृषि अभ्यासका कारण कोदो खेती उपेक्षित बन्दै गएको हो। कोदोको अस्तित्वसँगै यससँग जोडिएको संस्कृति जोगाउन प्रभावकारी सरकारी कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ छ।


