इटहरी : जीवनभरको एउटा ठूलो सपना थियो—कैलाश मानसरोवरको दर्शन गर्ने। त्यसपछि परिवारसँग घुम्ने, रमाउने र बाँकी जीवन खुसीसाथ बिताउने योजना थियो। तर तीर्थयात्राका लागि घरबाट निस्किएका सुनसरी तरहराका ६५ वर्षीय अम्बरकाजी खड्का र ६४ वर्षीया मनकुमारी खड्काको यात्रा रसुवामा आएको भीषण बाढीपहिरोपछि कहाँ पुगेर रोकियो, परिवारलाई अझै थाहा छैन।

सुनसरीको इटहरी–२० तरहरास्थित घरमा अहिले उनीहरूले छाडेर गएको मौनता छ। ढोकातिर आँखा पुग्छ, मोबाइलमा फोनको घण्टी बज्दा मुटु ढुक्क हुन खोज्छ। तर परिवारले पर्खिरहेको त्यो एउटा खबर अहिलेसम्म आएको छैन—अम्बरकाजी र मनकुमारी जीवितै छन् भन्ने खबर। जिन्दगीभर पसिना बगाएर सन्तानको भविष्य बनाएका यो दम्पतीको पछिल्लो ठूलो इच्छा कैलाश मानसरोवरको दर्शन गर्ने थियो। पाथिभरा मन्दिरको दर्शन सकेर मानसरोवर जाने र दसैँअघि १० दिने विदेश यात्राबाट घर फर्किने योजना बनाएर उनीहरू यात्रामा निस्किएका थिए। साउन १६ गतेका लागि यात्रा तय भएको थियो। तर आफन्तमा परेको शोकका कारण यात्रा केही दिन पछाडि धकेलियो। त्यसपछि ट्राभल एजेन्सीसँग नयाँ समय मिलाएर यात्रा अघि बढाउने तयारी भयो। सँगै जाने भनिएका भाइ–बुहारीका ससुरा बिरामी परेपछि उनीहरूले तीन दिनअघि नै यात्रा रद्द गरे। तर अम्बरकाजी र मनकुमारीको तीर्थयात्राको सपना भने रोकिएन।

भारतीय सेनाका पूर्वहवल्दार अम्बरकाजीले यात्रा पूरा गर्ने अठोट गरे। भाइ दीपक खड्काले नै उनीहरूको टिकट बुक गरिदिए। काठमाडौँमा मामाघर र भाइ दीपकको घरमा एक–एक दिन बसेपछि दम्पती खुसी हुँदै मानसरोवरतर्फ लागे। यात्राका क्रममा उनीहरूले परिवारसँग नियमित सम्पर्क गरिरहेका थिए। रसुवा पुगेपछि अम्बरकाजीले कान्छा छोरा सुवाश, जेठा छोरा सञ्जय र ९० वर्षीय बुवा चन्द्रबहादुरसँग ह्वाट्सएपमा भिडियो कल गरेका थिए। आफू पुगेको ठाउँका दृश्य देखाउँदै उनले परिवारसँग खुसी साटेका थिए। तर त्यही भिडियो कल परिवारका लागि उनको अन्तिम सम्पर्क बन्न पुग्यो। गाडीमा सवार हुँदै गर्दा अम्बरकाजीले आफ्ना ९० वर्षीय बुवा चन्द्रबहादुरसँग कुरा गरेका थिए। ‘गाडीहरू धेरै भएर जाममा परेको छ, अब अगाडि पुग्न लागियो’ भन्दै उनले फोन राखेका थिए। त्यसपछि आएको भीषण बाढीपहिरोले सडकसँगै सञ्चार सम्पर्क पनि टुटाइदियो। त्यसयता अम्बरकाजी र मनकुमारी चढेको सवारीसाधनको अवस्थाबारे परिवारले कुनै ठोस खबर पाउन सकेको छैन। खोजी भइरहेको छ, तर अहिलेसम्म दम्पतीको अवस्थाबारे निश्चित जानकारी प्राप्त भएको छैन।

९० वर्षीय चन्द्रबहादुरका लागि छोराको बेपत्ता खबर झन् असह्य बनेको छ। जीवनको यो उत्तरार्धमा छोराको बाटो हेर्दै बसेका उनी अझै पनि अम्बरकाजी र बुहारी मनकुमारी फर्किएर आउने आशामा छन्। ‘छोरा त आँखामा राख्दा पनि बिझाउँदैनथ्यो, यो मनलाई कसरी बुझाउने? मेरो छोरा–बुहारी अझै आउँछन् जस्तै लाग्छ। मलाई एक्लै छोडेर कसरी जान सक्छन् र?’ अम्बरकाजी सन् २००६ मा भारतीय सेनाबाट सेवानिवृत्त भएका थिए। त्यसपछि उनी सुनसरीको तरहरामा बस्दै आएका थिए। विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय उनी उमेर ढल्किँदै गए पनि नयाँ ठाउँ घुम्ने, परिवारसँग रमाउने र नयाँ अनुभव बटुल्ने उत्साहमा थिए। तीन छोरामध्ये कान्छा सुवाशसँग अम्बरकाजी र मनकुमारी बस्दै आएका थिए। माइला छोरा सन्तोष रोजगारीका क्रममा अमेरिकामा छन् भने जेठा छोरा सञ्जय काठमाडौँमा युएनएफपीएका कन्सल्टेन्टका रूपमा कार्यरत छन्। बुवा–आमा सम्पर्कविहीन भएपछि सञ्जय र उनकी पत्नी लोकसरी इटहरी–२० स्थित घरमा आएका छन्। बुवा–आमा नहुँदा घरको हरेक कुनामा उनीहरूको अभाव महसुस भइरहेको छ। कहिले ढोकातिर आँखा पुग्छ, कहिले मोबाइलको स्क्रिनमा। फोन बज्दा सबैको मनमा एउटै प्रश्न उठ्छ—कतै बुवा–आमाको खबर त आएन? तर अहिलेसम्म त्यो प्रतीक्षा टुंगिएको छैन। सञ्जयका लागि बुवा–आमाको यात्रा केवल तीर्थयात्रा थिएन। उनीहरूको बाँकी जीवनलाई खुसी बनाउने परिवारको साझा योजना थियो।

‘हामीले बुवा–आमालाई अब केही गर्नु पर्दैन, हजुरहरू घुम्नुस्, रमाइलो गर्नुस् भनेका थियौँ। पाथिभरा पुगेर आएपछि मानसरोवर जाने र दसैँअघि सिङ्गापुरसहित चार वटा देश घुम्ने १० दिने प्याकेजको योजना थियो।’ परिवारले नयाँ कार किन्ने तयारीसमेत गरेको थियो। बुवा–आमाले अब जीवनभरको जिम्मेवारी पूरा गरिसकेको भन्दै उनीहरूलाई घुमाउने, रमाउने र आफ्नो इच्छा पूरा गर्ने समय आएको परिवारको बुझाइ थियो। तर भविष्यका खुसीका लागि बुनेका ती सबै योजना अहिले अनिश्चितताको बीचमा रोकिएका छन्। मनकुमारीको पनि एउटा सानो तर गहिरो रहर थियो। तीजका अवसरमा सबै दिदीबहिनी र आफन्तले एउटै साडी लगाउने, सँगै फोटो खिच्ने र टिकटक बनाउने उनको इच्छा थियो। काठमाडौँ फर्किएपछि त्यसको तयारी गर्ने योजना थियो।‘काठमाडौँ फर्किएर तीजमा सबै दिदीबहिनी र आफन्तले एउटै साडी लगाएर फोटो खिच्ने र टिकटक बनाउने आमाको ठूलो धोको थियो। त्यो पनि अधुरै रह्यो,’ सञ्जय भन्छन्। अम्बरकाजीले रसुवा जानुअघि छोरालाई अर्को सामान्यजस्तो लाग्ने आग्रह पनि गरेका थिए—‘म फोटो खिचेर पठाउँछु, तैँले मेरो फेसबुकमा राम्रोसँग हालिदिनू।’ त्यो आग्रह अहिले सञ्जयका लागि जीवनभर नमेटिने सम्झना बनेको छ।

अरू बेला अम्बरकाजी आफ्ना फोटो आफैँ फेसबुकमा राख्थे। तर यसपटक उनले छोरालाई नै फोटो पोस्ट गरिदिन भनेका थिए। उनलाई कहाँ थाहा थियो, त्यो आग्रह नै छोरासँगको अन्तिम कुराकानीमध्ये एक बन्नेछ। ‘न त मैले बुवाको फोटो पोस्ट गर्न पाएँ, न त आमाले सोचेजस्तै साडी लगाएर भिडियो नै बनाउन पाउनुभयो,’ सञ्जय भन्छन्।बाढीपहिरोले रसुवाका सडक र संरचना मात्रै बगाएन, एउटा परिवारले वर्षौँदेखि बुन्दै आएको भविष्यको खुसी पनि अनिश्चित बनाइदियो। कैलाश मानसरोवरको दर्शन, दसैँअघि घर फर्किने योजना, चार देश घुम्ने रहर, नयाँ कार किन्ने तयारी र तीजमा परिवारसँग रमाउने मनकुमारीको इच्छा—सबै सपना अहिले एउटा खबरको प्रतीक्षामा अडिएका छन्। परिवारले पहिचानका लागि सञ्जयले डिएनए परीक्षणका लागि रगतको नमूनासमेत दिएका छन्। खोजी कार्य जारी छ। दिनहरू बित्दै जाँदा परिवारको आशा कमजोर हुँदै गए पनि उनीहरूले पूर्ण रूपमा हार मानेका छैनन्। अझै पनि फोनको घण्टी बज्दा घरका सबै आँखा एकैपटक मोबाइलतिर पुग्छन्। कतै अम्बरकाजी र मानकुमारी जीवितै भेटिएको खबर पो आयो कि भन्ने आशा उनीहरूको मनमा बाँकी छ। कैलाश मानसरोवरको दर्शन गर्ने सपना बोकेर घरबाट निस्किएको त्यो दम्पती अहिले कहाँ छ, कसरी छ, परिवारलाई थाहा छैन। तर उनीहरूले पछाडि छाडेका सपना र सम्झनाहरू भने इटहरीको त्यो घरको हरेक कुनामा जीवित छन्। खड्का परिवारको अहिले एउटै प्रार्थना छ—तीर्थयात्रामा निस्किएका बुवा–आमा सकुशल फर्किएको खबर सुन्न पाइयोस्। किनकि उनीहरूका लागि यो अब केवल खोजी होइन, बुवा–आमासँग जोडिएको अन्तिम आशाको प्रतीक्षा हो।