इटहरी स् झापाको नयाँ प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० का रूपमा श्रवणकुमार पोखरेल आउने भएका छन्। हल्दिबारी गाउँपालिका–१ गोलधापका स्थायी बासिन्दा पोखरेललाई गृह मन्त्रालयले झापाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गर्ने निर्णय गरेको हो।
सहसचिव रहेका पोखरेल झापामै जन्मे–हुर्केका र जिल्लाको प्रशासनिक संरचनासँग परिचित अधिकारी हुन्। उनी यसअघि पनि झापामा सरकारी सेवाको जिम्मेवारी सम्हालिसकेका छन्। पोखरेलले २०६२र६३ को जनआन्दोलनअघि शाही शासनकालमा जिल्ला प्रशासन कार्यालय झापामा प्रशासकीय अधिकृतका रूपमा काम गरेका थिए। त्यसपछि उनले मालपोत कार्यालय झापाको प्रमुख भएरसमेत जिम्मेवारी सम्हालेका थिए। झापाको प्रशासनिक संयन्त्र, स्थानीय अवस्था र जिल्लाका सरकारी कार्यालयको कार्यप्रणालीबारे प्रत्यक्ष अनुभव भएका कारण उनको आगमनलाई जिल्लामा चासोका साथ हेरिएको छ।
राष्ट्रिय किताबखानाको महानिर्देशक हुँदै झापा
पोखरेल पछिल्लो समय राष्ट्रिय किताबखानाको महानिर्देशकका रूपमा कार्यरत थिए। नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ साल असार ३२ गतेको निर्णयअनुसार राष्ट्रिय किताबखानाको जिम्मेवारी क्षेत्र विस्तार गरी साविकका प्रहरी किताबखाना र शिक्षक किताबखानालाई समेत राष्ट्रिय किताबखानाअन्तर्गत ल्याउने गरी पुनर्संरचना गरिएको थियो। नयाँ संरचनाअनुसार राष्ट्रिय किताबखानालाई निजामती, शिक्षक र प्रहरीसम्बन्धी अभिलेख तथा प्रशासनिक जिम्मेवारी हेर्ने गरी पुनर्गठन गरिएको छ। महानिर्देशकको प्रत्यक्ष सुपरिवेक्षणमा शिक्षक शाखाअन्तर्गत चार निर्देशक, प्रहरी शाखाअन्तर्गत दुई निर्देशक र निजामतीतर्फ तीन निर्देशक रहने व्यवस्था गरिएको छ। यससँगै तीनवटै शाखा हेर्ने गरी कुल नौ निर्देशक रहने संरचना बनाइएको छ।
पुनर्संरचनापछि कुल १०६ दरबन्दी कायम गरिएको छ। यसअघि तीनवटै छुट्टाछुट्टै निकायमा गरी कुल १३७ दरबन्दी रहेको थियो। महानिर्देशकसहित चार सहसचिवको संरचना रहेकामा नयाँ व्यवस्थापछि एक जना सहसचिव अर्थात् महानिर्देशक रहने व्यवस्था गरिएको छ। यही पुनर्संरचनापछि राष्ट्रिय किताबखानाको नेतृत्व सम्हालिरहेका पोखरेल अब गृह प्रशासनअन्तर्गत झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आउन लागेका हुन्।
झापाकै स्थानीय अधिकारी
पोखरेलको झापासँगको सम्बन्ध नयाँ भने होइन। हल्दिबारी–१ गोलधापका स्थायी बासिन्दा उनी जिल्लाकै प्रशासनिक सेवामा काम गरिसकेका अधिकारी हुन्। शाहीकालमा जिल्ला प्रशासन कार्यालय झापामा प्रशासकीय अधिकृतका रूपमा काम गर्दा उनले जिल्लाको प्रशासनिक अभ्यासलाई नजिकबाट बुझेका थिए। त्यसपछि मालपोत कार्यालय झापाको प्रमुखको जिम्मेवारीसमेत सम्हालेकाले झापाको प्रशासनिक तथा भूमि प्रशासनसम्बन्धी विषयमा उनको पुरानो अनुभव छ। अनुभवी र मिजासिला अधिकारीका रूपमा परिचित पोखरेलको झापा आगमनले जिल्लाको शान्तिसुरक्षा, सुशासन, सेवा प्रवाह र विपद् व्यवस्थापनमा कस्तो प्रभाव पार्छ भन्ने चासो पनि बढेको छ।
गेलाल गृह मन्त्रालयमा तानिए
यसैबीच झापाका वर्तमान प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। गेलालले यसअघि नै पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा भने अहिलेसम्म स्वीकृत भइसकेको छैन। गृह मन्त्रालयले एकैपटक विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा गृह प्रशासनअन्तर्गतका अधिकारीहरूको सरुवा गरेको हो। निर्णयअनुसार महेन्द्रकुमार सापकोटालाई सल्यानबाट सुर्खेतको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रजिअ तथा बाराका धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको प्रजिअ बनाइएको छ। गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालय वा अन्तर्गत ल्याइएको छ। खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखाको प्रजिअ बनाइएको छ भने दोलखाका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई गृह मन्त्रालयमा ल्याइएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई पर्वत तथा पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रजिअको जिम्मेवारी दिइएको छ।यसैगरी गृह प्रशासनअन्तर्गतका अन्य अधिकारीहरूको पनि विभिन्न जिल्ला तथा कार्यालयमा सरुवा गरिएको छ। केही सातादेखि नै सरुवाको सूची तयार भए पनि निर्णय प्रक्रिया अघि बढ्न सकेको थिएन। पछिल्लो निर्णयसँगै गृह प्रशासनमा व्यापक फेरबदल भएको हो।


