इटहरी स् ‘राम्रोसँग पढ्नु है’—घरबाट टाढा हुँदा पनि ५३ वर्षीय मोहन माझीले छोरा मनिषलाई बारम्बार सम्झाउने गर्थे। परिवारसँग फोनमा कुरा गर्दा छोराको पढाइदेखि घरको अवस्थासम्म सोध्ने उनी आफ्नो काममा पनि उत्तिकै जिम्मेवार थिए।

भारतीय सेनाको हवलदार पदबाट १२ वर्षअघि अवकाश लिएका मोहनका लागि अरूको सुरक्षा गर्नु जागिरको जिम्मेवारी मात्र थिएन, जीवनभर बोकेको संस्कार थियो। त्यसैले रसुवास्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ‘सेफ्टी सुपरभाइजर’का रूपमा काम गर्दा पनि उनले आफ्नो सुरक्षाभन्दा पहिले अरूको सुरक्षालाई प्राथमिकता दिए। आज त्यही बानी उनका परिवारका लागि कहिल्यै नसकिने पर्खाइ बनेको छ। भदौ १० गते नेपाल–चीन सीमातर्फबाट आएको पहिरो भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले माथिल्लो त्रिशूली–१ आयोजनाको हेडवर्क्स, कार्यालय तथा आवास क्षेत्र नै बगायो। आयोजनाका अनुसार कुल १ हजार ४३३ जनामध्ये ८७६ जनाको उद्धार भएको छ भने ५५७ जना अझै सम्पर्कविहीन छन्। त्यही भीषण विपत्तिमा मोहन पनि बेपत्ता भए। सुनसरीको बराहक्षेत्रस्थित उनको घरमा अहिले न दसैँको तयारी छ, न चाडपर्वको उत्साह। छ त केवल एउटै प्रश्न—‘मोहन कहाँ छन्रु’

वैशाख ४ गते घरबाट आयोजनास्थल फर्किएका मोहनले आउँदो दसैँमा घर आउने बताएका थिए। काम सकिएपछि अबको एक वर्षभित्र परिवारसँगै बसेर बाँकी जीवन बिताउने उनको योजना थियो। १२ वर्ष अघि भारतीय सेनाबाट अवकाश भएपछि ४ वर्ष घरमै काम गरेका मोहनले ८ वर्ष अघिदेखि उक्त जलविद्युत आयोजनामा काम गर्न थालेका थिए । तर भदौ १० गतेको विपत्तिले उनका सबै योजना एकाएक रोकिदियो। बाढी आउनुअघि केही दिनदेखि नै भारी वर्षाका कारण आयोजनास्थलमा आवतजावत कठिन बनेको र जोखिम बढेको उनले परिवारलाई बताएका थिए। श्रीमती चन्द्रकला माझीले पनि उनलाई पटक–पटक ‘सुरक्षित भएर काम गर्नुहोला’ भन्दै सम्झाउने गरेकी थिइन्। भदौ १० गते ड्युटीमा जानुअघि खाजा खाँदै उनले परिवारसँग फोनमा कुरा गरिरहेका थिए। कुराकानीकै क्रममा नेटवर्कमा समस्या आयो र फोन काटियो। दिउँसो करिब १२ बजेतिर परिवारले फेरि सम्पर्क गर्ने प्रयास गर्‍यो। तर मोबाइल बन्द भइसकेको थियो। त्यसपछि परिवारले आफन्त, चिनेजानेका व्यक्ति र आयोजनासँग सम्पर्क गरेर उनको अवस्थाबारे बुझ्न थाल्यो। त्रिशूली र आसपासका क्षेत्रमा भीषण बाढी आएको खबर फैलिँदै जाँदा बराहक्षेत्रस्थित माझी परिवारको मनमा पनि डर बढ्दै गयो। तीन–चार दिनसम्म खोजी र सोधपुछ गरेपछि मात्रै मोहन बेपत्ता भएको खबर परिवारले पायो।

तर परिवारलाई सबैभन्दा बढी पीडा उनको बेपत्ता हुनुमा मात्र छैन। उनी अरूलाई बचाउने क्रममा हराएको खबरले परिवारलाई झनै भावुक बनाएको छ। बाढी आउनुभन्दा केही मिनेटअघि आयोजनामा काम गरिरहेका मजदुरहरूले माथिबाट लेदो र पानीको असामान्य बहाव बढेको देखेका थिए। सुरक्षा सुपरभाइजरका रूपमा मोहनले जोखिमको अवस्था बुझेर मजदुरहरूलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिन थाले। आफू पनि सुरक्षित स्थानतर्फ जान सक्ने अवस्था हुँदाहुँदै उनी अरू मजदुरलाई सुरक्षित ठाउँमा पुर्‍याउन र सुरुङबाट बाहिर निकाल्न खटिए। मोहनलाई खोज्न आयोजनास्थल पुगेका उनका साढुभाइ नारायण श्रेष्ठका अनुसार घटनास्थलबाट फर्किएका र बचेका सहकर्मीहरूले पनि मोहन अरूलाई बचाउन लागिरहेको बताएका थिए।  त्यसपछि मोहनको परिवारका लागि समय रोकिएजस्तै भएको छ। श्रीमती चन्द्रकला, २२ वर्षीया छोरी मञ्जु र १६ वर्षीय छोरा मनिष दिन गन्दै बसेका छन्। कहिले फोन बज्छ कि भन्ने आशा, कहिले उद्धार टोलीबाट कुनै खबर आउँछ कि भन्ने प्रतीक्षा—यही क्रम चलिरहेको छ।

मोहनको अवस्था पत्ता लगाउन नारायण र छोरा मनिष काठमाडौँस्थित पावर चाइनाको कार्यालयसम्म पुगे। त्यहाँ घटनासँग सम्बन्धित विवरण र तस्बिरहरू हेरे। तर ती तस्बिरमा मोहनलाई भेट्ने परिवारको आशा पूरा भएन। पहिचानका लागि छोरा मनिषले आफ्नो डीएनए नमुना परीक्षणका लागि रगतसमेत दिएका छन्। तर डीएनए परीक्षणको नतिजाभन्दा पहिले परिवार मोहनको एउटा खबर सुन्न चाहन्छ—उनी जीवित छन् कि छैनन्रु आयोजनाको सुरुङ क्षेत्रमा ठुलो मात्रामा लेदो र भग्नावशेष जमेकाले खोजी निकै कठिन बनेको छ। भदौ १० गतेको बाढीपछि माथिल्लो त्रिशूली–१ आयोजनाका सयौँ श्रमिक सम्पर्कविहीन छन्। पछिल्लो विवरणअनुसार आयोजनामा ५५७ जना बेपत्ता छन्। तीमध्ये पावर चाइनाका ३८५, एन्ड्रिट्ज हाइड्रोका ९४, डुसानका ५६, आयोजना प्रवर्द्धक कम्पनीका १५ र जेड कन्सल्टका सात जना छन्। करिब ११५ जना सुरुङभित्रै फसेको आशङ्का गरिएको छ। शुक्रवार आयोजनास्थलमा खोजी तथा उद्धारका क्रममा थप ६ जनाको शव फेला परेको छ। सुरुङ र भग्नावशेषभित्र अझै कति मानिस छन् भन्ने यकिन हुन सकेको छैन। उद्धारका लागि नेपाली सुरक्षा निकायसँगै प्राविधिक तथा विदेशी विशेषज्ञ टोलीसमेत परिचालन गरिएको छ।

माथिल्लो त्रिशूली–१ मात्र होइन, भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म ठुलो क्षति पुर्‍याएको छ। पछिल्लो सरकारी विवरणअनुसार बाढीमा १ हजार २९४ जनाको शव फेला परिसकेको छ भने ५ हजार ५३ जना अझै सम्पर्कविहीन छन्। १३ हजारभन्दा बढीको उद्धार गरिएको विवरण सार्वजनिक भएको छ। बाढीले सडक, पुल, बस्ती र जलविद्युत् आयोजनाहरूमा समेत ठुलो क्षति पुर्‍याएको छ। रसुवामा मात्रै करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो। विपत्तिको यति ठुलो क्षतिबिच पनि सुरुङ, भग्नावशेष र नदी आसपासमा खोजी जारी छ। कतिपय स्थानमा लेदो र भत्किएका संरचना हटाउँदै भित्र पस्नुपर्ने भएकाले उद्धारमा समय लागेको छ। परिवारहरूले भने खोजीलाई अझ तीव्र बनाउन माग गर्दै आएका छन्। मोहनको परिवारलाई थाहा छ—दिन बित्दै जाँदा आशा कमजोर हुँदै जान सक्छ। तर उनीहरूले अझै आशा छाडेका छैनन्। मनिषलाई सम्झाउने उनका बुबाको त्यही आवाज परिवारको कानमा अझै गुन्जिन्छ—‘राम्रोसँग पढ्नु।’ छोरा अहिले पनि बाबुको बाटो कुरिरहेका छन्।

श्रीमती चन्द्रकला घरको ढोकातिर हेर्छिन्। छोरी मञ्जु मोबाइलमा आउने हरेक खबरमा झस्किन्छिन्। छोरा मनिष भने डीएनए नमुना दिएर पनि मनभित्र एउटै आशा बोकेर बसेका छन्—बाबुको खबर कुनै न कुनै दिन आउला। मोहनले जीवनभर अरूको सुरक्षा गरे। भारतीय सेनामा रहँदा होस् वा जलविद्युत् आयोजनामा ‘सेफ्टी सुपरभाइजर’का रूपमा, अरूको ज्यान जोगाउनु उनको जिम्मेवारी बन्यो। भदौ १० गते पनि उनले त्यही गरे। अरूलाई सुरक्षित ठाउँतर्फ पठाउँदा आफू भने उर्लिएको लेदोमा हराए। आज भोटेकोशी–त्रिशूलीको बाढीले सयौँ परिवारलाई शोक र प्रतीक्षामा छाडेको छ। तीमध्ये एउटा परिवार बराहक्षेत्रमा बसेर मोहनको बाटो कुरिरहेको छ। समय बितिरहेको छ। खोजी जारी छ। तर मोहनको परिवारका लागि प्रतीक्षा अझै सकिएको छैन।