इटहरी । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ र ४ नम्बर वडास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्रबार बिहान करिब ७ बजे गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब एक सय मिटर तल, वडा नम्बर २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको हो । पहिरो खसेपछि खोलामा करिब एक सय मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नविन राज बुढाथोकीले जानकारी दिनुभयो ।
हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका–२ बोदेलमा थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दूधकोशी गाउँपालिका र नेचासल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिन्छ । त्यसपछि उक्त नदी खोटाङ हुँदै ओखलढुङ्गातर्फ बग्ने गर्दछ । बिहान करिब ९ः१० बजे पहिरोका कारण बनेको ड्यामको ताल भरिएपछि पानी निकास हुन सुरु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण तथा अवस्थाबारे बुझ्ने काम भइरहेको छ ।
प्रहरीले नदी तटीय क्षेत्रमा रहेका बस्ती तथा हाइड्रोपावरका कर्मचारीलाई सतर्क रहन र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

