इटहरी । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन हाफ म्याराथन प्रतियोगिताको अवसरमा दुईजना पत्रकार पुरस्कृत हुनुभएको छ । पत्रकारितामार्फत पर्यटन क्षेत्रमा योगदान पु¥याएकोभन्दै आयोजकले ताप्लेजुङ र पाँचथरका एक–एक जना पत्रकारलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा ताप्लेजुङका अग्रज पत्रकार किशोरकुमार राई र पाँचथरका गिरीराज बाँस्कोटा रहनुभएको छ । तिम्बुङ पोखरी पर्यटन विकास समितिले पत्रकार राई र बाँस्कोटालाई जनही ३० हजार रुपियाँ नगद पुरस्कारसहित सम्मान गरेको हो । सम्मानित पत्रकार राई र बाँस्कोटालाई प्रतिनिधिसभा सदस्य क्षितिज थेबे, सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई लगायतले नगद पुरस्कार र सम्मानपत्र वितरण गर्नुभएको थियो । पत्रकारितामार्फत पर्यटन प्रवर्धन र विकासमा टेवा पु?याएको मूल्याङ्कन गर्दै उहाँहरुलाई सम्मान गरिएको समितिका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो ।
पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत राई नेपाल पत्रकार महाङ्घ ताप्लेजुङ शाखाका पूर्वअध्यक्ष हुनुहुन्छ भने हाल उहाँ शिक्षण पेशामा आवद्ध रहनुभएको छ । पत्रकार बाँस्कोटा पनि नेपाल पत्रकार महाङ्घ पाँचथरका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँ पत्रकारिता क्षेत्रमै क्रियाशील रहँदै आउनुभएको छ । बिहीबार सम्पन्न तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन ९हाफ म्याराथन० प्रतियोगितामा भने खुलातर्फ इलामका सञ्जय राई र महिलातर्फ डोल्पाकी सुनसरी रोक्का प्रथम हुनुभएको थियो । त्यस्तै खुलातर्फ सोलुखुम्बुका अर्जुन कुलुङ राई र ताप्लेजुङ, मैवाखोलाका फुर्वालाक्पा शेर्पा क्रमशः दोस्रो र तेस्रो हुनुभएको छ ।
महिलातर्फ पाँचथरकी सम्झना कुरुम्बाङ लिम्बू दोस्रो र स्थानीयतर्फ सिदिङ्वा गाउँपालिका–१ कालिखोलाका भरत बानियाँ विजेता बन्नुभएको छ । खुलातर्फ प्रथम, दोस्रो र तेस्रो हुने धावकलाई क्रमशः ८३ हजार ५२५, ६३ हजार ५२५ र ४३ हजार ५२५ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै महिलातर्फ पनि प्रथमलाई ८३ हजार ५२५ र दोस्रो हुनेलाई ६३ हजार ५२५ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको छ । ट्रेल रनमा स्थानीयतर्फका विजेतालाई ३३ हजार ५२५ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका अध्यक्ष राईले जानकारी दिनुभयो ।
करिव चार हजार ३५० मिटरको उचाइ रहेको जिल्लाकै एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रको प्रवर्द्धन र विकास तथा प्रचारप्रसार गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता आयोजना गरिएको हो । कुल २१ किलोमिटर दूरी निर्धारण गरिएको साहसिक ट्रेल रन म्याराथन मा भारतको सिक्किमका धावकसमेत सहभागी भएका थिए ।
