इटहरी स् सुनकोशीलगायत क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपत्तिपछि राहत तथा उद्धार अभियानमा मुस्लिम समुदायको उल्लेखनीय सहभागिता देखिएको छ ।

देशभरका मुस्लिम बस्ती, मस्जिद, मदरसा, सामाजिक संस्था, व्यापारी तथा विदेशमा रहेका नेपाली मुस्लिम संघ–संस्थाले आर्थिक सहयोगसँगै प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरिरहेका छन् । विपद्को तेस्रो–चौथो दिनदेखि नै विभिन्न संघ–संस्था, समूह तथा व्यक्तिहरूले खाद्यान्न, लत्ताकपडा, औषधिलगायत आवश्यक सामग्री प्रभावित परिवारसम्म पुर्‍याइरहेका छन् । यसै क्रममा सुनसरी मुस्लिम समाजले जिल्लाका विभिन्न मुस्लिम बस्ती, मस्जिद, मदरसा, सामाजिक संस्था तथा व्यापारीबाट संकलित सहयोगमध्ये ६२ लाख ४५ हजार ४९ रुपैयाँ बराबरका बैंक भौचर तथा डिपोजिट स्लिप जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।

मुस्लिम अगुवा, नेता, बुद्धिजीवी तथा ओलमाहरूको उपस्थितिमा उक्त रकमका भौचर प्रमुख जिल्ला अधिकारीसमक्ष हस्तान्तरण गरिएको हो । सुनसरी मुस्लिम समाजका अध्यक्ष नईम अन्सारीका अनुसार यो रकम समुदायको कुल सहयोगको पूर्ण विवरण होइन, किनकि धेरै व्यक्ति तथा समूहले प्रत्यक्ष रूपमा राहत सामग्री खरिद गरी प्रभावित क्षेत्रमा पुर्‍याएर वितरण गरेका छन् । सबै विवरण प्राप्त भएपछि सरकारको राहत कोषमा जम्मा भएको रकम करोड रुपैयाँभन्दा माथि पुग्नसक्ने र प्रत्यक्ष वितरण गरिएको राहत सामग्रीको मूल्य जोड्दा समुदायको योगदान अझ ठूलो हुने उनले बताए ।

दुहबीका नेकपा नेता हैदर अलीले राहत अभियान अझै जारी रहेकाले आगामी दिनमा थप रकम तथा सामग्री संकलन हुने बताए । पूर्वमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले विपद्को समयमा मुस्लिम समुदायले आफ्नो सामाजिक संरचनालाई मानवीय सेवामा परिचालन गर्नु सकारात्मक भएको बताए । उनले विपद्को पीडा कुनै एक धर्म वा समुदायको मात्र नभएकाले राहत संकलनसँगै त्यसको पारदर्शी र प्रभावकारी वितरणमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।