इटहरी । मोरङमा ४० वर्षअघि भएको हत्याका दोषी तीन जना लामो समयपछि पक्राउ परेका छन् । अदालतबाट कैद सजाय तोकिए पनि फरार रहेका बेलबारी नगरपालिका–४ का रामकुमार राई, बालकुमार राई र बाबुराम राईलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा बुधबार राति उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । तीनै जनाविरुद्ध चलाइएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले २०६१ जेठ १० गते कैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वोच्च अदालतले २०६२ चैत ११ गते तल्लो अदालतको फैसला सदर गरेपछि उनीहरु कैद भुक्तानका लागि पक्राउ पर्नुपर्ने थियो । तर, सजाय भुक्तान नगरी उनीहरु फरार रहँदै आएका थिए ।
फैसलाअनुसार रामकुमार राईलाई २० वर्ष तथा बालकुमार राई र बाबुराम राईलाई जनही पाँच वर्ष कैद सजाय तोकिएको छ । अदालतको अभिलेखअनुसार घटना २०४३ असार १५ गते भएको हो । तत्कालीन डाँगीहाट गाविस–८ र बाहुनी गाविस–१ को सीमामा पर्ने खेतमा घाँस काटेको विषयलाई लिएर विवाद भएपछि भएको झगडाका क्रममा रामकुमारले खुकुरी प्रहार गर्दा आशाराम खवासको मृत्यु भएको फैसलामा उल्लेख छ । खुकुरी प्रहारबाट खवासको टाउकोको देब्रे भागमा करिब चार इन्च लामो चोट लागेको लासजाँच मुचुल्काबाट खुलेको थियो । घटनास्थलमै मृत्यु भएका खवासको हत्यामा रामकुमारसँगै बालकुमार र बाबुरामसमेत संलग्न रहेको ठहर अदालतले गरेको थियो ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले अदालतमा बुझाएको थियो । अदालतले उनीहरुलाई तोकिएको कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

