इटहरी स्  बुद्धशान्तीमा विद्युत्को माग बढ्दै गए पनि आपूर्ति संरचना भने पुरानै छ। घरायसीसँगै व्यापार, कृषि र उद्योगमा विद्युत् खपत बढेपछि सामान्य प्राविधिक समस्यामा समेत ठूलो क्षेत्र प्रभावित हुने गरेको छ।

बुधबारे वितरण उपकेन्द्रअन्तर्गत बुद्धशान्तीका सबै वडा तथा मेचीनगर र अर्जुनधाराका केही क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ। तर उपकेन्द्रमा मेचीनगरको धाइजन सबस्टेसनबाट करिब १५ किलोमिटर लामो ११ केभी लाइनमार्फत विद्युत् आउने गरेको छ। लामो दूरीको एउटै लाइनमा निर्भर हुँदा समस्या आउनासाथ ठूलो क्षेत्रको विद्युत् आपूर्ति प्रभावित हुन्छ। कम भोल्टेज, पटक–पटक लाइन जाने र लामो समय विद्युत् अवरुद्ध हुने समस्या स्थानीयले भोग्दै आएका छन्।

यही समस्याको दीर्घकालीन समाधानका रूपमा बुधबारेमै सबस्टेसन निर्माणको माग उठेको हो। बुधबारे वितरण उपकेन्द्रको नवनिर्मित भवन परिसरमा सबस्टेसन निर्माण गर्न सकिए धाइजनमाथिको निर्भरता घट्ने र वितरण प्रणाली थप भरपर्दो हुने प्राविधिकहरूको भनाइ छ। धाइजन वितरण केन्द्रमा हालै फेरिएको ६र८ एमभीए क्षमताको ट्रान्सफर्मरले तत्कालको माग व्यवस्थापनमा सहयोग पुग्ने भए पनि बढ्दो मागका लागि दीर्घकालीन योजना आवश्यक देखिएको छ। त्यसका लागि बुद्धशान्ती गाउँपालिका, विद्युत् प्राधिकरणका सम्बन्धित वितरण केन्द्र र कोशी प्रादेशिक कार्यालयबीच समन्वय गरी सबस्टेसनको सम्भाव्यता अध्ययन अघि बढाउनुपर्ने स्थानीयको माग छ। बुद्धशान्तीमा कृषि, व्यापार र उद्योग विस्तार भइरहेकाले आगामी दिनमा विद्युत्को माग अझ बढ्ने निश्चित छ। त्यसैले तार र ट्रान्सफर्मर मर्मतमा मात्र सीमित नभई भविष्यको माग धान्ने पूर्वाधार निर्माणतर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ।