इटहरी। एक समय घरका भान्सामा पाक्ने स्थानीय उत्पादन पछिल्लो समय हराउँदै गएपछि धनकुटाका रोशन राईले कोदो, फापर र स्थानीय उत्पादनका दाल–गेडागुडीलाई ब्राण्डिङ गरी बजारीकरण गर्न सुरु गर्नु भएको छ ।
धनकुटाको अमलेटारस्थित औद्योगिक ग्राममा सञ्चालित आनीको खाद्य उद्योगबाट कोदो, फापर, मकै, स्थानीय दाल–गेडागुडी लगायत परम्परागत खाद्यान्न प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्न सुरु गर्नु भएको हो । विदेशी तथा प्रशोधित खाद्यवस्तुको बढ्दो प्रयोगकाबिच स्थानीय रैथाने अन्नलाई पुनः उपभोक्ताको भान्सासम्म पु¥याउन यो अभियान सुरु गरीएको राई बताउनुहुन्छ । अहिले धनकुटासहित कोशी प्रदेशका विभिन्न बजारमा ‘चासुम’ ब्रान्डका विभिन्न उत्पादन पाइन थालेको छ । गाउँमा कोदो र फापरको खेती घट्दै गएको देखेपछि उहाँले किसानलाई पुनः यस्ता बाली विस्तार गर्न प्रेरित गर्न गाउँ–गाउँ पुग्न थाल्नुभयो । धनकुटासहित तेह्रथुम, भोजपुर र सङ्खुवासभाका किसानसँग अग्रिम उत्पादन सम्झौता गरेर खरिद सुनिश्चित गर्ने काम पनि उद्योगले गरिरहेको छ ।
खाद्य प्रविधिको क्षेत्रमा लामो अनुभव बटुल्न्भएका राई पतञ्जली र डाबर नेपालजस्ता कम्पनीको आकर्षक जागिर छाडेर आफ्नै गाउँ फर्किनुभएको हो । १० लाख रुपियाँको लगानीबाट सुरु भएको उद्योगको वार्षिक कारोबार अहिले करिब ३० लाख रुपियाँ पुगेको उहाँको भनाइ छ । श्रीमतीसँग मिलेर उद्योग सञ्चालन गर्दै आउनुभएका राईले स्थानीयलाई रोजगारीसमेत दिनुभएको छ । उद्योगले किसानबाट उत्पादन खरिद गर्ने, सफा गर्ने, प्रशोधन गर्ने, मापदण्डअनुसार प्याकेजिङ गर्ने र बजारसम्म पु¥याउने सम्पूर्ण प्रक्रिया आफैँ सञ्चालन गर्दै आएको छ । बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न लागत चुनौती भए पनि उपभोक्ताले गुणस्तर र स्वास्थ्यलाई प्राथमिकता दिन थालेका राईको भनाई छ ।


