इटहरी। धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको एउटा विशाल घण्टी धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ । निसान मन्दिर पुग्ने मात्र होइन, धनकुटा आउने अधिकांश पर्यटक उक्त घण्टीमा तस्बिर खिचेर फर्कने गरेका छन् ।
साना साना घण्टीलाई जोडेर बनाइएको यो ‘महाघण्टी’ मा करिब ५०० भन्दा बढी घण्टी समेटिएका छन् । यसको तौल करिब १५० किलोभन्दा बढी रहेको निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिए । उनका अनुसार यस महाघण्टीमा १९३१ सालभन्दा अघिदेखिका घण्टीसमेत सङ्ग्रहित रहेका छन् ।
घिमिरेले महाघण्टी निर्माणले पुराना घण्टीको संरक्षण हुनुका साथै मन्दिरको सौन्दर्य र पहिचानसमेत थपिएको बताए । सुरुमा घण्टी कसरी व्यवस्थापन गर्ने भन्ने सोचेर काम सुरु गरिएको भन्दै अहिले यही घण्टी सबैका लागि आकर्षक केन्द्र बनेको तथा मन्दिरको शोभासमेत बढाएको घिमिरेले बताए । धनकुटाको निसान मन्दिरको इतिहास पूर्व नेपालको प्रशासनिक तथा सैनिक इतिहाससँग जोडिएको छ । विसं १८४१ मा पूर्वको प्रशासनिक कार्यका लागि प्रसादसिंह बस्नेत धनकुटा आएका बेला जङ्गी निसानको स्थापना भएको इतिहास रहेको बताइन्छ ।
मन्दिरमा अहिले पनि नेपाली सेनाले दैनिक पूजाआजा गर्दै आएको छ । मन्दिरमा नेपाली सेनाकै एक पुजारी रहने व्यवस्था गरिएको छ । धार्मिक आस्थासँगै ऐतिहासिक महत्व बोकेको निसान मन्दिर परिसरमा बनेको महाघण्टीले पुराना घण्टीको संरक्षण मात्र गरेको छैन, मन्दिरको सौन्दर्य र पर्यटकीय आकर्षणसमेत बढाएको छ ।


