इटहरी। उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं। ५ स्थित सिवाईमा करेन्ट लागेर आइतवार बिहान एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन चापागाईँका अनुसार चौदण्डिगढी नगरपालिका वडा नं। ५ सिवाई बस्ने ६८ वर्षीय सुकदेव चौधरीको मृत्यु भएको हो । चौधरीले आफ्नै घरपछाडिको कलमा पानी तान्ने मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।

चौधरीको मृत्यु भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुन्दरपुर र इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटिएर शवको प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टारको शवगृहमा राखिएको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।