इटहरी स् जिल्ला प्रशासन कार्यालय झापाले ‘पालो आवेदन शून्यमा झार्ने’ अभियानअन्तर्गत सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा प्रदान गर्ने भएको छ ।
अनलाइन आवेदन फाराम भरेर बायोमेट्रिक र अन्य प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले आगामी असोज १५ गतेसम्म ‘शून्य बाँकी आवेदन अभियान’ सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । अभियानअन्तर्गत कार्यालयले दैनिक बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्ने र सार्वजनिक बिदामा समेत सेवा प्रवाह नरोकिने जनाएको छ ।
हाल कार्यालयमा राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा लिने सेवाग्राहीको चाप रहेको छ । पालो पर्खिरहेका आवेदकको संख्या शून्यमा झार्ने अभियानको लक्ष्य रहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै अनलाइन आवेदन गरी पालो पर्खिरहेका सम्पूर्ण सेवाग्राहीलाई आवश्यक सक्कल कागजातसहित अभियान अवधिमा कार्यालयमा आएर सेवा लिन आग्रह गरेको छ ।


