इटहरी। गाउँदेखि सहरसम्म चिसा पेय पदार्थको प्रयोग बढिरहेका बेला धनकुटामा भने परम्परागत मोहीलाई आधुनिक ढाँचामा उत्पादन गरी बजारमा पुर्‍याउने क्रम बढेको छ । धनकुटा नगरपालिका–१ हिलेमा रहेको सिंहदेवी डेरी उद्योगले उत्पादन गर्दै आएको ‘दुर्गा मोही’ अहिले कोल्ड ड्रिङ्क्सको विकल्पका रूपमा उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ ।

धनकुटा नगरपालिका–२ घर भएका डेरी व्यवसायी राजु घिमिरेले वि।सं। २०७५ देखि डेरी व्यवसाय सञ्चालन गर्दै आएका छन् । सुरुआतमा उनले नौनी, पनिर र छुर्पी उत्पादन गर्दै आएका थिए । स्थानीय बजारमा माग रहे पनि बाहिरबाट आउने उत्पादनसँगको प्रतिस्पर्धा बढ्दै गएपछि व्यवसाय सञ्चालन गर्न कठिन हुन थालेको थियो ।  त्यसपछि उनले नेपाली समाजमा पुस्तौँदेखि प्रयोग हुँदै आएको मोहीलाई नयाँ स्वरूपमा बजारमा लैजाने योजना बनाए ।

घिमिरेले २०८० सालदेखि ‘दुर्गा मोही’ नाम दिएर एक लिटरको बोतलमा प्याकिङ गरी बिक्री सुरु गरेका हुन् । सुरुआतमा बिक्री हुनेमा आशंका रहे पनि अहिले माग धान्न कठिन हुने अवस्था आएको उनी बताउँछन् । सिंहदेवी डेरी उद्योगमा हाल दैनिक ३०० लिटरभन्दा बढी मोही उत्पादन हुँदै आएको छ । हिले, पाख्रिबास, सिधुवालगायत क्षेत्रमा ‘दुर्गा मोही’को माग हुने गरेको छ । विवाह, भोज, सभा–सम्मेलन, होटल–रेस्टुरेन्ट तथा घरायसी प्रयोजनमा समेत यसको प्रयोग बढेको छ । स्थानीय विमल दाहालका अनुसार पहिले कार्यक्रममा कोल्ड ड्रिङ्क्स खाने चलन रहे पनि अहिले मोही रोज्न थालिएको छ ।

घिमिरेका अनुसार मोही खाद्य गुणस्तर तथा नापतौल विभागको मापदण्डअनुसार उत्पादन गरिन्छ र प्याक गरिएको मोही करिब एक सातासम्म प्रयोग गर्न मिल्छ । मोहीसँगै डेरीमा नौनी, पनिर र छुर्पी पनि उत्पादन हुँदै आए पनि पछिल्लो समय ‘दुर्गा मोही’ नै उद्योगको मुख्य पहिचान बन्दै गएको छ । मोरिङ्गा होटलका सञ्चालक सागर दाहालका अनुसार विशेषगरी गर्मीयाममा होटलमा आउने ग्राहकको रोजाइमा मोही पर्न थालेको छ ।