इटहरी स् ९० वर्षीय चन्द्रबहादुर खड्काको मनमा अझै एउटा आशा बाँकी थियो– कतैबाट छोराको फोन आउला, ‘बुवा, हामी सुरक्षित छौँ’ भन्ने खबर सुन्न पाइएला । तर २९ दिनसम्म न फोन आयो, न छोराबुहारीको कुनै अत्तोपत्तो लाग्यो । अन्ततः शुक्रबार उनले छोराबुहारीको अन्त्येष्टि संस्कार गरे ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएका इटहरी–२० तरहराका अम्बरकाजी खड्का र उनकी पत्नी मनकुमारी खड्काको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको हो । ६५ वर्षीय अम्बरकाजी र ६४ वर्षीया मनकुमारी कैलाश मानसरोवर दर्शनका लागि घरबाट निस्किएका थिए । धार्मिक यात्रामा निस्किएको दम्पतीको यात्रा रसुवामा आएर रोकियो । बाढीपहिरोपछि उनीहरू सम्पर्कविहीन भए । त्यसयता परिवारको दैनिकी उनीहरूको खोजी र खबरको प्रतीक्षामै बित्यो ।
अम्बरकाजीले रसुवा पुगेपछि घरमा फोन गरेका थिए । ९० वर्षीय बुवा चन्द्रबहादुरसँग पनि कुराकानी भएको थियो । सडकमा सवारीसाधनको जाम रहेको र केही समयपछि अगाडि बढ्ने बताएका थिए । तर, त्यो कुराकानी नै परिवारसँगको अन्तिम सम्पर्क बन्यो । त्यसपछि परिवारका सदस्यले उनीहरूको मोबाइलमा फोन गरिरहे । हरेकपटक फोन गर्दा कतै घण्टी बजिरहेको होला, कसैले उठाउला र आफूहरूलाई उनीहरूको अवस्थाबारे जानकारी देला भन्ने आशा थियो । तर, दिन बित्दै गए पनि खबर आएन ।
बाढीमा बेपत्ता भएको खबरपछि परिवारले सम्भावित ठाउँमा खोजी गर्यो । आफन्त र चिनजानका व्यक्तिमार्फत जानकारी लिने प्रयास गर्यो । शव भेटिएमा पहिचान गर्न सहज होस् भनेर डीएनए परीक्षणको प्रक्रियासमेत अघि बढायो । जेठा छोरा सञ्जय खड्काले आवश्यक नमुना दिए । तर, २९ दिन बित्दासमेत अम्बरकाजी र मनकुमारीको अवस्था पुष्टि हुन सकेन । शव नभेटिँदा परिवारले उनीहरूको मृत्यु भएको यकिन गर्न सकेको थिएन । जीवितै भेटिने आशा पनि पूर्ण रूपमा त्याग्न सकेको थिएन ।
यही अनिश्चितताले परिवारलाई सबैभन्दा बढी पीडा दिएको थियो । आफन्तको मृत्यु भएको खबर सुन्नु र मृत्यु भएको हो कि होइन भन्ने नै थाहा नपाउनुबीचको पीडा फरक थियो । खड्का परिवार त्यही दोधारमा थियो । अम्बरकाजीका वृद्ध बुवा चन्द्रबहादुरका लागि छोराको प्रतीक्षा झन् कठिन बन्यो । उमेरले ९० वर्ष पुगेका उनी छोराबुहारीको खबर पर्खिरहेका थिए । यात्रामा निस्किएका छोरा फर्किएर घर आउने आशा थियो । तर, समय बित्दै जाँदा त्यो आशा अनिश्चिततामा बदलियो । परिवारले शव नभेटिए पनि धार्मिक संस्कार गर्नुपर्ने निष्कर्ष निकाल्यो । त्यसपछि हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गर्ने निर्णय गरियो । शुक्रबार इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा अम्बरकाजी र मनकुमारीको कुशको शव बनाएर अन्त्येष्टि संस्कार गरिएको हो ।

