इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१ देउराली स्थित सिंहदेवी घुमाउने पोखरी प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल हो ।
शान्त वातावरण, हरियाली र पोखरीको मनमोहक दृश्यले यहाँ पुग्ने जो–कोहीलाई केहीबेर रोकिएर प्रकृतिसँग रमाउन आकर्षित गर्छ । पोखरी निर्माण तथा संरक्षणका लागि भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ भने महालक्ष्मी नगरपालिका–१ को वडा कार्यालयको समन्वयमा काम अघि बढाइएको छ । यसको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी भू–संरक्षण तथा हरियाली उपभोक्ता समूहले लिएको छ । तर, पोखरीको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने स्थानीयको माग छ । स्थानीय नीरबहादुर गुरुङका अनुसार पोखरीको माथिल्लो भागमा पहिरो जाने भएकाले वर्षायाममा लेदो, हिलो र माटो पोखरीमा आउने समस्या छ।
त्यसको दीर्घकालीन व्यवस्थापनका लागि तारजाली लगाउनुका साथै सिंहदेवी मन्दिरको समेत संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । त्यस्तै, यहाँ आउने पर्यटकलाई लक्षित गर्दै पिकनिक स्थल, शौचालय र खानेपानीको व्यवस्था गर्न सके पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने स्थानीय बालकुमारी थापा बताउनुहुन्छ ।
सिंहदेवी मन्दिर धार्मिक आस्थाको केन्द्रसमेत हो । वर्षमा एकपटक पूजा नगरे असिनापानी, हावाहुरीजस्ता प्राकृतिक विपत्ति आउने जनविश्वास रहेको ज्येष्ठ नागरिक चुडाबहादुर थापाले बताउनुभयो । पोखरी वरपर पैदलमार्ग, बस्ने ठाउँ, दृश्यावलोकनस्थल, सरसफाइ तथा अन्य आधारभूत पर्यटकीय पूर्वाधार थप गर्न सके आन्तरिक पर्यटकको आकर्षण बढ्न सक्ने स्थानीयको अपेक्षा छ । प्राकृतिक सम्पदाको संरक्षणसँगै योजनाबद्ध पूर्वाधार विकास गर्न सके सिंहदेवी घुमाउने पोखरी स्थानीय पर्यटन प्रवद्र्धन, रोजगारी र आयआर्जनको माध्यम बन्न सक्ने सम्भावना देखिन्छ ।

