इटहरी । धरान–१५ स्थित युएन–नवोदय कलेजको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कक्षा–११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।
कक्षा–१२ का विज्ञानतर्फ प्रशन्न श्रेष्ठ, कम्प्युटर साइन्सतर्फ रेसिका शर्मा, होटल म्यानेजमेन्टतर्फ सलिना राई र म्यानेजमेन्टतर्फ देवीका राईलाई सम्मान गरिएको थियो। यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पनि सम्मान गरियो।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीएचएममा उत्कृष्ट हुने सन्ध्या थेगिम, अलिश राई र मनोज राईलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
कार्यक्रममा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले टपर विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गर्दै आएको र ‘एक विद्यार्थी, एक ल्यापटप’ कार्यक्रमअन्तर्गत बीएचएम प्रथम सेमेस्टरका विद्यार्थीलाई निःशुल्क ल्यापटप वितरण गरिँदै आएको बताए। उनले प्रविधि, एआई र च्याटजीपीटीको प्रयोगले विद्यार्थीको अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ध्रुवराज खड्काले कलेजले धरानको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए। कार्यक्रममा कलेज अध्यक्ष ज्ञानेश्वर झासहित शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो। विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।



