तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत तेह्रथुमका विभिन्न पालिकामा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेको छ।
अभियानका क्रममा म्याङ्लुङ नगरपालिका, लालीगुराँस नगरपालिका लगायतका विभिन्न स्थानमा पुगेर पार्टी नेतृत्व, शुभेच्छुक तथा स्थानीय नागरिकसँग भेटघाट गरिएको हो। भेटघाटका क्रममा स्थानीय नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या, चासो, गुनासा तथा सुझावहरू प्रत्यक्ष रूपमा सुन्नुका साथै सरकारले हालसम्म गरेका काम, उपलब्धि र सकारात्मक पहलका विषयमा जानकारी गराइएको थियो। साथै, सरकारका कामप्रति नागरिकको धारणा बुझ्ने प्रयाससमेत गरिएको रास्वपाले जनाएको छ।

रास्वपाका नेताहरूले आफ्नो राजनीति निर्वाचनका बेला मात्रै जनतामाझ पुग्ने नभई निरन्तर जनतासँग जोडिएर उनीहरूको समस्या सुन्ने, वास्तविक अवस्था पहिचान गर्ने र समाधानका लागि पहल गर्ने उद्देश्यमा केन्द्रित रहेको बताएका छन्।
अभियानमा तेह्रथुममा रास्वपाका केन्द्रीय सदस्य डिल्लेश्वर कार्की (रोहन), माननीय सुनिता कुमारी चौधरी, प्रदेश सभापति चन्द्रबहादुर राई, सह–महामन्त्री इ. सुरेन्द्र कार्की, सचिवालय सदस्य सुनिलकुमार भुषाल, प्रदेश सदस्य विन्दु सिटौला (लक्की) लगायतको सहभागिता रहेको थियो।
रास्वपाले नागरिकका आवाज, सुझाव र अपेक्षालाई प्राथमिकतामा राख्दै विभिन्न पालिकामा पुगेर प्रत्यक्ष संवादलाई निरन्तरता दिने जनाएको छ।



