इटहरी। धनकुटाका किसानले दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, धनकुटाले पत्रकार सम्मेलन आयोजना गरी किसानले उत्पादन गरेको दूधको मूल्य बढाउन माग गरेको हो ।

किसानले हाल प्रतिलिटर ५० देखि ५५ रुपियाँ पाउँदै आएको दूधको मूल्य बढाएर ८० रुपियाँ पुर्‍याउन माग गरेका छन् । धनकुटामा करिब ४० हजार किसानले दैनिक ३० हजार लिटर दूध उत्पादन गर्दै आएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष नारदबहादुर कटुवालले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाबाट दैनिक १० हजार लिटर दूध दुग्ध विकास संस्थान ९डिडिसी० मा जाने गरेको छ । डिडिसीबाहेक चार वटाभन्दा बढी संस्थाले दैनिक १५ हजार लिटर दूध खरिद गर्दै आएका छन् । बाँकी दूध स्थानीय डेरीमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । किसानले उत्पादन गरेको दूधको मूल्य प्रतिलिटर ५० देखि ५५ रुपियाँ मात्रै रहेको तर बजारमा उपभोक्ताले १२० रुपियाँसम्म तिर्नुपर्ने अवस्था रहेको महालक्ष्मी नगरपालिका–२ की कृषक कृष्णमाया कटुवालले बताउनुभयो ।

सरकारले तीन वर्षदेखि दूधको मूल्य नबढाउँदा किसान मारमा परेको उहाँको भनाइ छ । दैनिक गाईवस्तुलाई खुवाउने कुँडो र औषधोपचारमा समेत खर्च जुटाउन कठिन भएको उहाँले बताउनुभयो । जिल्लामा २७ वटा दुग्ध उत्पादक सहकारी संस्था रहेको र लामो समयदेखि किसानले उत्पादन गरेको दूधको मूल्य नबढेको सङ्घले जनाएको छ । सरकारले मङ्सिर १५ गतेसम्म दूधको मूल्य नबढाए सशक्त आन्दोलन गर्ने किसानले चेतावनी दिएका छन् । माग पूरा नभए मङ्सिर १६ गतेदेखि गाईवस्तु सडकमा ल्याएर चक्काजाम गर्ने उनीहरूको भनाइ छ ।

किसानले उत्पादन गरेको दूध बिक्री नभए सङ्कलन तथा भण्डारण गरेर राख्ने तयारीसमेत रहेको अध्यक्ष कटुवालले बताउनुभयो । दूधको मूल्य बढाउन सरकारसँग पटक–पटक आग्रह गर्दा पनि आश्वासन मात्र पाएको उहाँको भनाइ छ ।