इटहरी। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४, साँवास्थित पर्यटकीय गन्तव्य फङफङदेन झरनामा जारी अलैँची कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि तेह्रथुमको फेदाप गाउँपालिका र धरानको मरिक एफसीबिच प्रतिस्पर्धा हुने भएको छ।

शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाँचथरको कुम्मायक कुस्सायक स्पोर्टिङ क्लबलाई ३–२ गोलले पराजित गर्दै मरिक एफसीले फाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि फेदाप गाउँपालिकाले पहिलो सेमिफाइनल खेलमा आयोजक फङफङदेन झरना पर्यटन विकास समितिलाई १–० गोलले पराजित पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । मरिक एफसीको जितमा मिलन लिम्बूले दुई तथा कृष्ण राईले एक गोल गर्नुभयो । कुम्मायक कुस्सायकका लागि नवराज माझी र निरोज लिङ्देनले एक–एक गोल गर्नुभयो । खेलमा दुई गोल गरेका मरिकका मिलन लिम्बू प्लेयर अफ दी म्याच घोषित हुनुभयो । उहाँले पुरस्कार स्वरूप तीन हजार रुपियाँ बराबरको अलैँची प्राप्त गर्नुभयो ।

फङफङदेन झरना पर्यटन विकास समितिको आयोजनामा मङ्सिर २ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुँदैछ। प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८३ रुपियाँ बराबरको अलैँची पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५२ हजार ८३ रुपियाँ बराबरको अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। ताप्लेजुङको प्रमुख नगदेबाली अलैँचीलाई खेलकुद र पर्यटनसँग जोड्दै यसको बजार विस्तार तथा पहिचान प्रवर्धन गर्ने र फङफङदेन झरनालाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।