इटहरी। कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले स्थानीय पर्यटन गन्तब्यको विकास गर्न प्रदेश सरकार लागिरहेको बताउनुभएको छ ।

चिचिला महोत्सवको उद्घाटन गर्नुहुदैं लिङ्थेपले यस्तो बताउनु हुँदै उहाँले कोशी प्रदेश सरकारले कोशी प्रदेश भ्रमण बर्षको रुपमा २०८५ सालसम्मलाई तोकेको बताउनुभयो । सोही बमोजिम स्थानीय सरकारले पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न विभिन्न गतिविधि र कार्यक्रम गर्ने पालिकाहरुसँग प्रदेश सरकारले साझेदारीमा काम गरिरहेको बताउनुभयो । कोशी प्रदेश सरकारले भ्रमण बर्ष मनाइरहँदा चिचिला गाउँपालिकाले चिचिला महोत्सव गर्ने प्रस्ताव आएपछि कोशी प्रदेश सरकारले साझेदारीमा महोत्सवको आयोजना गरिएको अर्थमन्त्री लिङ्थेपको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पर्यटन ब्याबसायी मिङ्मा शेर्पाले चिचिला गाउँपालिकाले पर्यटन प्रवर्धन गर्ने महत्वपूर्ण कार्यक्रम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चिचिलामा मकालु हिरक पार्क निर्माण गर्न तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा हिरक पार्कको उद्घाटन गरिएको थियो । चिचिला गाउँपालिकाले अहिले महोत्सव आयोजना गरेको छ ।’ चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले महोत्सव सफल पार्न आउनुहुने सबैलाई धन्यवाद दिनुहुदैं पर्यटनबाट आम्दानी बढाउन सकिने बताउनुभयो । 

महोत्सवमा विभिन्न जातजातिको झाँकी, स्थानीय उत्पादनको स्टल, स्थानीय अर्गानिक खानाका परिकारहरु, फुड फेस्टिबल, पालिकास्तरीय भलिवल प्रतियोगिता र साहित्यिक कार्यक्रमसहित कार्यक्रम छ ।  चिचिला गाउँपालिकाको आयोजना, कोशी प्रदेश सरकारको प्रायोजन तथा हेल्भेटस नेपालको पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको समन्वयमा ‘चिचिला महोत्सव’ को आयोजना गरिएको  हो । महोत्सवमा चिचिला गाउँपालिकाले १० लाख रुपिया र कोशी प्रदेश सरकारले १५ लाख रुपियाँ बजेट बिनियोजन गरिएको छ । शनिबारदेखि सुरु भएको महोत्सव ८ गते समापन हुने छ ।