मोरङ । मोरङको उर्लाबारी नगरपालिका–४ स्थित भानुमार्गमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
बुधबार राति करिब १०ः३५ बजे स्थानीय बलबहादुर मगरको घरमा जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा उर्लाबारी–४ का ३२ वर्षीय शिव निधी, ४९ वर्षीय युवराज थापा, ३५ वर्षीय डम्बरबहादुर अधिकारी, ३९ वर्षीय कमल खड्का, ५० वर्षीय गोपाल भुजेल, ४१ वर्षीय दुर्गाबहादुर भुजेल, ४२ वर्षीय मोहन खड्का र ५० वर्षीय सुरेश कार्की रहेका छन्।
प्रहरी निरीक्षक नवीन वलीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा फेला पारेको थियो। उनीहरूको साथबाट नगद २२ हजार २०० रुपैयाँ र दुई बुङ ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका आठै जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


