इटहरी । सुनसरीको बराहक्षेत्रमा जैविक विविधता संरक्षण, स्थानीय पर्यटन प्रवद्र्धन र मौलिक खेलको विकास गर्ने उद्देश्यसहित ‘चौथो स्टोन स्किपिङ च्याम्पियनसिप २०८३’ सम्पन्न भएको छ। 

चतरा हाकिङ समूहको आयोजना तथा कोशी प्रदेशका भौतिक पूर्वाधार तथा राज्यमन्त्री सपना परियारको प्रमुख आतिथ्यमा प्रतियोगिता बराहक्षेत्र–११, मधुवनस्थित एक पोखरीमा सम्पन्न भएको हो। नेपालमै पहिलो पटक बराहक्षेत्रमा मात्रै अभ्यास गरिएको ‘पानी सुल्के’ (स्टोन स्किपिङ) खेलमा सुनसरी, उदयपुर र भोजपुरबाट १०१ जनाले सहभागिता जनाएका थिए । समूहका संयोजक भीषण राईका अनुसार पहिलो चरणमा ढुङ्गा पाँच बाउन्स भन्दा बढी उफार्ने आधारमा ३९ जना प्रतियोगी छनोट भएका थिए। दोस्रो तथा अन्तिम चरणमा छनोट भएका प्रतियोगीहरूले तीनवटा ढुङ्गा हान्न पाएका थिए।

रोमाञ्चक प्रतिस्पर्धामा बराहक्षेत्र–२, चतराका सञ्जय राईले ३४ बाउन्स ढुङ्गा उफार्दै च्याम्पियनसिपको उपाधि जितेका छन्। त्यस्तै, बराहक्षेत्र–११, मधुवनका भरत भुजेल ३३ बाउन्स सहित द्वितीय तथा बराहक्षेत्र–२ का मोहन भुजेल ३२ बाउन्स सहित तृतीय भएका छन्। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विजेताहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।