इटहरी । भोजपुरका विभिन्न स्थानमा बुधबार अचानक परेको असिनापानीले पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुर्याएको छ। धान भित्र्याउने समयमा एक्कासि असिनापानी परेपछि किसान चिन्तित बनेका छन्।
जिल्लाका विभिन्न क्षेत्रमा परेको असिनापानीले खेतमा पाकेको तथा काटेर सुकाउन राखिएको धानमा क्षति पुगेको किसानहरूले बताएका छन्। भोजपुर नगरपालिका–५ का किसान धनबहादुर थापाले अचानक परेको असिनापानीले धानबालीमा क्षति पुर्याएको बताए।
उनका अनुसार कतिपय किसानको धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन्। यस्तो अवस्थामा असिनापानी पर्दा किसानलाई धानबाली जोगाउन समस्या भएको छ।
धान पाकेर खेत पहेँलपुर भएको समयमा मौसममा आएको परिवर्तनले किसानको चिन्ता थप बढाएको छ। असिनापानी दोहोरिएमा पाकेको धान झर्ने, ढल्ने तथा काटेर सुकाइएको धानमा समेत थप क्षति पुग्ने जोखिम रहेको किसानहरूको भनाइ छ।


