इटहरी । वैदेशिक रोजगारीका लागि साउदी अरब गएका इटहरी उपमहानगरपालिका–४ मनकामना चोकका सतीचन्द चौधरीको निधनपछि शवको अन्त्येष्टि कसले गर्ने भन्ने विषयलाई लिएर विवाद उत्पन्न भएको छ।
शव नेपाल आइपुगेपछि परिवार र लामो समयदेखि सँगै बस्दै आएकी मन्जु चौधरीबीच विवाद चुलिएको हो। कानुनी र परम्परागत विवाह नभए पनि उनीहरू श्रीमान्–श्रीमतीकै रूपमा बस्दै आएका थिए। सतीचन्दलाई साउदी पठाउने प्रक्रियादेखि राहदानीमा समेत मन्जुलाई हकवाला राखिएको थियो। साउदीबाट शव ल्याउने प्रक्रिया अघि बढाएकी मन्जु शव बुझ्न काठमाडौंसम्म पुगेकी थिइन्।
सतीचन्दले पठाएको रकम र मन्जुको समेत कमाइ जोडेर नयाँ घर निर्माण गरिएको स्थानीय राम भण्डारीले बताए। तर, सतीचन्दका दाजु तथा परिवारले मन्जुसँग विवाह नभएको भन्दै शवको अन्त्येष्टि आफूहरूले गर्ने र सम्पत्तिमा समेत हक दाबी गरेपछि विवाद झनै बढेको छ।
बुढीगंगा–जमुना मुक्तिघाटमा शव अन्त्येष्टिका लागि लैजान शववाहनसमेत बोलाइएको अवस्थामा विवादका कारण शव उठाउन सकिएको छैन। स्थानीय एकराज घिमिरेका अनुसार दुई पक्षबीच सहमति जुट्न सकेको छैन। विवाद बढेपछि इलाका प्रहरी कार्यालय इटहरीको टोली घटनास्थल पुगेको छ। स्थानीय रघु गिरीका अनुसार अहिले समस्या समाधानका लागि भद्रभलाद्मी र प्रहरीको उपस्थितिमा छलफल जारी छ।


