इटहरी। पूर्वी नेपालको तराईका जिल्लामा छठ पर्वको रौनक बढ्न थालेको छ । छठ नजिकिएसँगै घरआँगनदेखि नदी, खोला, पोखरी र सिँचाइका नहर किनारमा रहेका घाट सिँगार्ने काम सुरु भएको छ ।
छठका गीतले तराईका बस्ती गुञ्जायमान हुन थालेका छन् भने व्रतालुहरू पूजाका सामग्री जुटाउन व्यस्त हुन थालेका छन् । सुनसरीको सप्तकोशी नदी किनार, इटहरीको बूढीखोला, विराटनगरको सिङ्घिया खोलालगायत पूर्वी नेपालका विभिन्न नदी तथा जलाशयमा छठ पूजाका लागि घाट सरसफाइ, सजावट र व्यवस्थापनको काम भइरहेको छ । इटहरीस्थित बूढीखोलाको गङ्गा जमुना मुक्तिघाटमा क्षेत्रमायस वर्ष छठ पूजाका लागि घाट तयार गरी व्रतालुलाई हस्तान्तरण गर्ने काम भइरहेको छठ पर्व सेवा समिति इटहरीका अध्यक्ष बासुदेव कर्णले बताउनुभयो ।
त्यस्तै रामधुनी नगरपालिकाको झुम्कास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा पनि छठ पर्व मनाउन तयारी थालिएकोश्री छठ माता सेवा समिति रामधुनीले जनाएको छ । श्री छठ माता सेवा समिति रामधुनीका अध्यक्ष मिलन रौनियारका अनुसार झुम्का नहर किनारमा १६५ वटा पूजाघाट निर्माण गर्ने काम भइरहेको छ । उहाँका अनुसार पूजा गर्न करिब पाँच सय परिवार सहभागी हुने छन् । घाट निर्माण, सरसफाइ, सजावट तथा अन्य व्यवस्थापकीय काम अघि बढाइएको समितिका अध्यक्ष रौनियारले बताउनुभयो ।
उहाँका अनुसार रामधुनी नगरपालिकाका विभिन्न वडाबाट व्रतालु तथा भक्तजन झुम्का बजारस्थित नहर किनारमा आएर छठ पूजा गर्ने गरेका छन् । समितिले २०५३ सालदेखि औपचारिक रूपमा छठ पर्वको व्यवस्थापन गर्दै आएको बताइएको छ । चार दिनसम्म मनाइने छठ पर्व यस वर्ष कात्तिक २७ गते शुक्रबारदेखि सुरु हुनेछ । पहिलो दिन व्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गर्नेछन् । सोही दिन बिहान ८ बजेदेखि झुम्का बजारमा कलश यात्रा निकालिने कार्यक्रम रहेको समितिले जनाएको छ ।
शुक्रबार साँझ नहर किनारमा गङ्गा आरती आयोजना गरिने अध्यक्ष रौनियारले जानकारी दिनुभयो । पर्वको दोस्रो दिन शनिबार खरना विधि गरिनेछ । तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ भने चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुनेछ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिँदै सूर्यदेव तथा छठी माताको पूजा गर्ने परम्परा रहेको बताइएको छ । छठ पर्वमा विशेषगरी व्रतालुहरूले निराहार तथा निर्जला व्रत बसेर श्रद्धा र भक्तिपूर्वक पूजा गर्ने गर्छन् । ठेकुवा, कसार, फलफूल, नरिवल, उखु, केरा, भोगटेलगायतका प्रसाद सूर्यदेव तथा छठी मातालाई अर्पण गरिन्छ । पर्वका अवसरमा व्रतालुहरूले परिवारको सुख, शान्ति, सुस्वास्थ्य, सन्तान प्राप्ति तथा सन्तानको दीर्घायु र समृद्धिको कामना गर्दै अस्ताउदो र उदाउँदो सूर्र्यको पूजा गरी अर्घ दिएर छठ पर्व मनाउने गर्छन् ।
तराई र मधेशका समुदायले मनाउँदै आएको छठ पर्व पछिल्लो समय सबै जातजाति र समुदायको साझा पर्वका रूपमा विस्तार हुँदै गएको छ । मनोकामना पूरा हुने र भाकल पूरा भएपछि छठी माताको पूजा गर्ने धार्मिक विश्वासका कारण पर्वप्रति सबै समुदायको आकर्षण बढ्दै गएको झुम्काका सुनील चौधरी बताउनु हुन्छ । धार्मिक आस्था र परम्परासँगै सामाजिक सद्भाव र सांस्कृतिक एकताकोरूपमा छठको महत्व बढ्दै गएको छ ।


