इटहरी । इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडा बनाउने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । बजारमा प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढ्दै जाँदा माटाका सामग्रीको प्रयोग घट्दै गए पनि उहाँले पुर्खादेखि गर्दै आएको पेसा छाड्नु भएको छैन ।

आधुनिकतासँगै गाउँघरदेखि सहर बजारसम्म माटाका भाँडाकुँडाको प्रयोग कम हुँदै गए पनि पुर्ख्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइरहेको पण्डितले बताउनुभयो । पहिले हातले माटो मुछेर विभिन्न आकारका भाँडाकुँडा बनाउनुपर्ने भए पनि अहिले मेसिनको प्रयोगले काम सहज भएको उहाँको अनुभव छ । माटाका गिलास, दियो, पाला, हात्तीका मूर्ति, गमला, खुत्रुके तथा पूजापाठमा प्रयोग हुने विभिन्न सामग्री बनाउने गरिएको छ । वर्षभरि नै सामान्य सामग्री बिक्री हुने भए पनि चाडपर्व तिहार र छठका बेला माग बढी हुने गरेकाले बिक्री पनि धेरै हुने गरेको पण्डितले बताउनुभयो । 

सुनसरीको चिमडीबाट माटो ल्याउने गरिए पनि अहिले त्यहाँ माटो पाउन छाडेकाले भाँडा बनाउन सप्तरीबाट माटो ल्याउनुपर्ने अवस्था रहेको पण्डितले बताउनुभयो । माटो ढुवानीका लागि ट्र्याक्टरमा १० हजारदेखि १५ हजार रुपियाँसम्म र टिपरमा ल्याउँदा २० हजार रुपियाँसम्म खर्च हुने गरेको उहाँको भनाइ छ । एक गाडी माटोबाट करिब एक लाख ५० हजार रुपियाँ मूल्य बराबरका सामग्री बनाउन सकिने पण्डितले जानकारी दिनुभयो ।

तिहार र छठ पर्वका समयमा मात्रै एक लाखदेखि दुई लाख रुपियाँसम्मका सामग्री बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । आफ्नै व्यवसाय भएकाले आफूलाई अनुकूल हुने समयमा काम गर्न सकिने र परिवारसँगै बस्न पाइने उहाँ बताउनुहुन्छ । स्वदेशमै आफ्नै व्यवसाय भए विदेश जानुपर्ने बाध्यता नहुने उहाँको भनाइ छ । पण्डितले बनाएका सामग्री बिक्रीका लागि बजारसम्म बोकेर लैजानुपर्ने अवस्था छैन । घर नजिकै बिहीबारे हाटबजारका कारण ग्राहक घरमै आएर सामग्री खरिद गरी लैजाने गरेका छन् । त्यसैले बिक्रीका लागि बजारको समस्या छैन । माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएपछि यस पेसामा आबद्ध धेरैले व्यवसाय परिवर्तन गरेको पण्डितको भनाइ छ । अहिले केहीले मात्रै पुर्खाले गर्दै आएको पेसालाई निरन्तरता दिइरहेका छन् ।