इटहरी । उपचारका लागि झापा कारागारबाट मोरङ लगिएका एक कैदी विराटनगरस्थित अस्पतालबाट फरार भएका छन् ।
फरार हुनेमा भारतको आसाम घर भई हाल झापाको भद्रपुर नगरपालिका–४ मा बस्दै आएका ३० वर्षीय सुमन भनिने सन्तोष राई छन्। चोरी मुद्दामा पक्राउ परेका उनी २०८२ वैशाख २८ देखि झापा कारागारमा कैद भुक्तान गर्दै आएका थिए । बिरामी भएपछि राईलाई गत वैशाख २८ गते उपचारका लागि झापा कारागारबाट मोरङ कारागार स्थानान्तरण गरिएको थियो । सोही दिन उनलाई विराटनगर महानगरपालिका–७ स्थित क्षयरोग अस्पतालमा भर्ना गरिएको थियो । उपचाररत उनी मंगलबार बिहान ७ बजेर १५ मिनेटमा फरार भएको प्रहरीले जनाएको छ ।
राई फरार भएको जानकारी पाएलगत्तै प्रहरीले खोजी सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा प्रहरी टोली परिचालन गरिएको छ । मातहतका प्रहरी इकाइलाई समेत खोजतलासमा खटाइएको प्रहरीले जनाएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बन्दी उपचारका क्रममा अस्पतालबाटै फरार भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको छ ।


