इटहरी। पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ । पदयात्राका लागि अनुकूल मौसम र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न उपयुक्त समय भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । 

पर्यटकको आगमन बढेसँगै पदमार्ग आसपासका होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा गतिविधि बढेको छ । यसले स्थानीय व्यवसायीमा उत्साह थपेको छ । मुन्दुम पदमार्ग क्षेत्रकोे चखेवाका होटलमा पछिल्लो समय पर्यटकको चाप बढेको स्थानीय होटल व्यवसायी नवराज काङमाङले बताउनुभयो । उहाँका अनुसार चखेवा क्षेत्रबाट मात्रै दैनिक औसतमा एक सय ५० देखि २०० जनाको हारहारीमा पर्यटक मुन्दुम पदमार्गको यात्रामा निस्कने गरेका छन् । पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढेसँगै होटलमा बस्ने तथा खाना खाने ग्राहकसमेत बढेको उहाँले बताउनुभयो । यो समयमा चखेवा क्षेत्रमा रहेका १६ वटा होटल पर्यटकले भरिभराउ हुने गरेको उहाँको भनाइ छ ।

पर्यटकको आगमनले होटल व्यवसायमा मात्र नभई स्थानीय उत्पादनको बिक्रीवितरणमा सकारात्मक प्रभाव पारेको काङमाङको भनाइ छ । पदयात्राका क्रममा आउने पर्यटकले स्थानीय होटलमा बास बस्ने, खाना खाने र आवश्यक सामग्री खरिद गर्ने गरेका छन् । यसबाट होटल व्यवसायीको आम्दानी बढ्नुका साथै स्थानीय कृषिउपज तथा घरेलु उत्पादनको बजार विस्तारमा सहयोग पुगेको छ । विशेषगरी भदौदेखि मङ्सिरसम्म र चैतदेखि साउनसम्म मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल बढी हुने गरेको व्यवसायी काङमाङले बताउनुभयो । मौसम अनुकूल हुँदा पदयात्रा गर्न सहज हुने र प्राकृतिक दृश्यको अवलोकन गर्न सकिने भएकाले यी समयमा पर्यटकको आगमन बढ्ने गरेको उहाँको भनाइ छ । पर्यटकको आगमनलाई अझ व्यवस्थित गर्नसके स्थानीय क्षेत्रमा थप रोजगारी र व्यवसायका अवसर सिर्जना हुने उहाँले बताउनुभयो ।

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गलाई गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय सम्पत्तिका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो । प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र ऐतिहासिक पहिचान बोकेको यस क्षेत्रको योजनाबद्ध विकासमा जोड दिँदै पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको उहाँको भनाइ छ । अध्यक्ष बस्नेतले मुन्दुम पदमार्गको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न प्रचारप्रसारसँगै आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो । पर्यटकको आगमनलाई निरन्तरता दिन पदमार्गको संरक्षण, सरसफाइ, आवागमनमा सहजता र पर्यटकमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।

मुन्दुम पदमार्ग प्राकृतिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय क्षेत्र हो । यस पदमार्गमा पदयात्रा गर्दा पूर्वी पहाडका रमणीय डाँडाकाँडा, हरियाली वनजङ्गल, गुराँस क्षेत्र तथा विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । किरात सभ्यता, संस्कृति र मुन्दुम परम्परासँग जोडिएका मौलिक पक्षले यस पदमार्गलाई अन्य पर्यटकीय क्षेत्रभन्दा विशिष्ट पहिचान दिएका छन् । यहाँको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले पदयात्रा तथा प्रकृति अवलोकनमा रुचि राख्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पर्यटन क्षेत्रको विकासले स्थानीय नागरिकको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।पर्यटकको आगमन बढ्दा होटल तथा खाना पसल सञ्चालन गर्ने अवसर सिर्जना हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ । पर्यटनलाई स्थानीय उत्पादन र रोजगारीसँग जोड्नसके गाउँपालिकाका नागरिकले आफ्नै क्षेत्रमा आम्दानीका अवसर प्राप्त गर्ने उपाध्यक्ष राईले बताउनुभयो । पदयात्राका क्रममा तावाभञ्ज्याङ, चखेवा, टेम्केडाँडा, मैयुङडाँडा, साल्पा पोखरी र सिलिचुङ चुचुरोलगायत क्षेत्र पर्यटकका प्रमुख आकर्षण बनेका छन् । मौसम खुलेका बेला यहाँबाट देखिने हिमाली दृश्य, अग्ला डाँडाकाँडा र प्राकृतिक मनोरम वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ ।

पदयात्राका क्रममा स्थानीय रहनसहन, संस्कृति र परम्परालाई नजिकबाट अवलोकन गर्न पाइनु पनि यस क्षेत्रको अर्को विशेषता हो । पछिल्लो समय प्रकृति अवलोकन, पदयात्रा र स्थानीय संस्कृति बुझ्ने उद्देश्यले घुमफिर गर्ने पर्यटकको आकर्षण बढ्दै गएको छ ।  पर्यटकलाई स्थानीय उत्पादनको स्वाद र पहिचानसँग परिचित गराउनसके यहाँ उत्पादित कृषिउपज, परम्परागत परिकार तथा घरेलु सामग्रीको बिक्री बढाउन सकिन्छ । पर्यटकको सहज आवागमनका लागि पदमार्ग क्षेत्रमा आवश्यक पूर्वाधार विस्तार र व्यवस्थापनका काम भइरहेको छ । खानेपानी, शौचालय, विश्रामस्थल, सूचना पाटी, पदमार्गको नियमित मर्मतसम्भार भइरहेको छ । पर्यटकको सुरक्षित यात्राका लागि स्थानीय तह, पर्यटन व्यवसायी र समुदायबिच समन्वय गरेर काम भइरहेको गाउँपालिकाले जनाएको छ ।