इटहरी स् दैवको कस्तो निर्दयी प्रहार १ एउटै घरका पाँच सदस्यलाई सात महिनाको अन्तरालमा मृत्युले खोस्यो। अन्ततः परिवारका अभिभावक बनेका टिकाराम दर्जीले पनि संसार छाडेपछि कक्षा १२ मा अध्ययनरत छोरी खुसी र कक्षा १० मा अध्ययनरत छोरा मुस्कान सहाराविहीन बनेका छन्।

मृत्यु जीवनको शाश्वत सत्य हो। तर एउटै परिवारमा मृत्युको यस्तो शृङ्खला दोहोरियो भने त्यसले दिने पीडा शब्दमा व्यक्त गर्न कठिन हुन्छ। झापाको बिर्तामोड नगरपालिका–९ कञ्चनटोलमा एउटा विपन्न दलित परिवारले सात महिनाभित्र भोगेको नियति यस्तै छ, जहाँ मृत्युले एकपछि अर्को गर्दै परिवारका पाँच सदस्यलाई चुँडेर लगेको छ। एउटै घरमा बजेको शोकको धुन अझै रोकिएको छैन। परिवारका सदस्य गुमाउँदाको पीडा सेलाउन नपाउँदै अर्को मृत्युले घरलाई शोकमा डुबाउँदै आएको छ। अन्ततः परिवारको सहारा बनेका टिकाराम दर्जीको पनि निधन भएपछि दुई कलिला सन्तान अभिभावकविहीन बनेका छन्। यो परिवारमा पहिलो बजेको थियो, २०८२ साल चैत १८ गते शोकको घण्टी। त्यस दिन टिकारामकी जेठी भाउजु सरिता दर्जीको निधन भयो। परिवारले एउटा सदस्य गुमायो। तर त्यो पीडा नै परिवारका लागि मृत्युको लामो शृङ्खलाको सुरुआत बन्न पुग्यो।

२०८३ साल भदौ १४ गते आमा नरमाया दर्जीको निधन भयो। आमाको मृत्युको पीडा परिवारले सहन नपाउँदै भोलिपल्ट अर्थात् भदौ १५ गते जेठा दाजु खेम दर्जीले पनि संसार छाडे। लगातार दुई दिनको अन्तरालमा आमा र दाजु गुमाउँदाको पीडाले परिवारलाई विक्षिप्त बनायो। समय बित्दै जाँदा घाउमा मलम लाग्ला भन्ने आशा थियो। तर नियतिले यो परिवारलाई थप पीडा दियो। २०८३ साल असोज ३० गते टिकारामकी धर्मपत्नी अनिषा दर्जीको निधन भयो। जीवनभर साथ दिने जीवनसाथी गुमाउँदा टिकाराममाथि दुःखको अर्को पहाड खस्यो। श्रीमतीको निधन भएको एक महिना पनि पूरा हुन नपाउँदै कात्तिक २७ गते दिउँसो १ बजे टिकाराम दर्जीले पनि अन्तिम सास फेरे। परिवारका सदस्य गुमाउँदै आएका उनी आफैँ पनि मृत्युको शिकार बनेपछि परिवारमा बाँकी रहेका दुई सन्तानको संसार नै उजाडिएको छ।

सात महिनाको अवधिमा एउटै परिवारका पाँच सदस्यको निधन भएको छ। अब यो परिवारमा कक्षा १२ मा अध्ययनरत छोरी खुसी दर्जी र कक्षा १० मा अध्ययनरत छोरा मुस्कान दर्जी मात्रै छन्। उनीहरूका लागि आमा छैनन्, बुबा छैनन्। दुःख पर्दा अँगालो हाल्ने अभिभावक छैनन्। भविष्यका सपना देखाउँने र ती सपना पूरा गर्न बाटो देखाउने परिवारका सदस्य पनि अब उनीहरूसँग छैनन्। सानै उमेरमा जीवनको सबैभन्दा ठूलो बज्रपात सहन बाध्य यी दुई बालबालिकाको भविष्य अहिले सबैको चासो र चिन्ताको विषय बनेको छ। पढ्ने, लेख्ने र आफ्नो भविष्य निर्माण गर्ने उमेरमा उनीहरूले परिवारका पाँच सदस्यको वियोग सहनुपरेको छ। अब उनीहरूको शिक्षादीक्षा, पालनपोषण र संरक्षण कसले गर्ने भन्ने प्रश्न खडा भएको छ।

दुई बालबालिकाको भविष्य अन्योलमा पर्न नदिन स्थानीय सरकार, सामाजिक सङ्घसंस्था, मानवअधिकारकर्मी, शिक्षाप्रेमी तथा सहयोगी मनहरू अघि आउनुपर्ने देखिन्छ। विशेषगरी हल्दीबारी गाउँपालिकाले उनीहरूको अवस्थाबारे जानकारी लिई अभिभावकत्व ग्रहण गर्ने तथा शिक्षादीक्षा र संरक्षणको दीर्घकालीन व्यवस्था मिलाउन आवश्यक छ। एउटै परिवारमा छोटो अवधिभित्र पाँच जनाको मृत्यु हुनु केवल एउटा परिवारको निजी शोक मात्र होइन, बाँकी रहेका दुई बालबालिकाको भविष्यसँग जोडिएको गम्भीर सामाजिक विषय पनि हो। दुःखको यो घडीमा उनीहरूलाई सहानुभूतिका शब्द मात्र होइन, व्यवहारमै साथ र सहयोगको खाँचो छ।यसैबीच, टिकाराम दर्जीको हल्दीबारी–२ स्थित देउनिया घाटमा अन्त्येष्टि गरिने जनाइएको छ।