इटहरी स्  झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा घाइते अवस्थामा फेला परेको निलगाईको मृत्यु भएको छ।

बिहीबार राति करिब ८ बजे खोलाको किनारमा रहेको बाँसको झ्याङमा अड्किएको अवस्थामा पोथी निलगाई फेला परेको थियो। स्थानीयले घाइते अवस्थामा निलगाई देखेपछि सबडिभिजन वन कार्यालय सुरुङ्गालाई खबर गरेका थिए। सूचना पाएलगत्तै वन कार्यालयका कर्मचारीको टोली घटनास्थल पुगेर निलगाईको उद्धार गरेको थियो। उद्धारपछि वन कार्यालयमा ल्याएर राखिएको निलगाईको शुक्रबार बिहान ३ः१५ बजे मृत्यु भएको हो।

मृत निलगाईलाई शुक्रबार बिहान ७ बजे सबडिभिजन वन कार्यालय सुरुङ्गाकै परिसरमा खाल्डो खनेर गाडिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ। बाँसको झ्याङमा कसरी अड्किएर निलगाई घाइते भएको थियो भन्नेबारे भने खुलाइएको छैन।