इटहरी स्  इलामको रोङ गाउँपालिकाले करसाङ पदमार्गको सरसफाइका लागि बृहत् श्रमदान कार्यक्रम आयोजना गर्ने भएको छ। गत वर्षदेखि सुरु गरिएको अभियानलाई निरन्तरता दिँदै गाउँपालिकाले यस वर्ष पनि स्थानीय समुदाय, जनप्रतिनिधि, सुरक्षाकर्मी र पर्यटन व्यवसायीलाई सहभागी गराएर पदमार्ग सरसफाइ गर्न लागेको हो।

गाउँपालिकाका अनुसार मंसिर २ गते बुधबार बिहान १० बजेदेखि हासपोखरीबाट झण्डी हुँदै निन्दासम्मको १९ किलोमिटर लामो पदमार्गमा सरसफाइ गरिनेछ। सरसफाइ अभियानलाई व्यवस्थित बनाउन पदमार्गलाई पाँच खण्डमा विभाजन गरिएको छ। अभियानमा ५८ वटा टोल विकास समिति, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी तथा पर्यटन र होमस्टे व्यवसायी परिचालन हुनेछन्। त्यस्तै, छिमेकी सूर्योदय नगरपालिकाको तारगाउँ र हर्कटे तथा मेचीनगरपालिकाको निन्दा क्षेत्रका टोल विकास समितिलाई पनि सहभागी गराइने गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवाले कम खर्चमा सामूहिक श्रमदानमार्फत पदमार्गको सरसफाइ गर्ने र यसबाट पर्यटकीय गतिविधि बढाउने उद्देश्य रहेको बताए। योजनाप्रति नागरिकको अपनत्व विकास गर्दै क्रमशः समुदायलाई नै व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्य रहेको उनको भनाइ छ। ‘पदमार्गको दिगो व्यवस्थापनमा समुदायको सहभागिता र अपनत्व आवश्यक छ,’ अध्यक्ष सुवाले भने, ‘सरसफाइसँगै यसको प्रचारप्रसार गर्ने र पदयात्राको सिजन सुरु भएको सामूहिक रूपमा घोषणा गर्ने हाम्रो उद्देश्य हो।’

अभियानमा सहभागी हुनेहरूले आवश्यक औजार आफैँ लिएर आउनुपर्ने गाउँपालिकाले जनाएको छ। टाढाबाट आउने सहभागीले अनिवार्य रूपमा सिक्कल ९हँसिया० ल्याउनुपर्नेछ। नजिकका सहभागीमध्ये ७५ प्रतिशतले सिक्कल र २५ प्रतिशतले काँटा तथा कोदालो ल्याउनुपर्ने व्यवस्था गरिएको छ। सहभागीका लागि गाउँपालिकाले खानेपानी, सामान्य खाजा तथा पाँचवटै खण्डमा प्राथमिक उपचारको व्यवस्था गर्नेछ। अभियानमा सहभागी हुन इच्छुक अन्य टोल विकास संस्था तथा श्रमदाताले डिजिटल प्रणाली, सम्बन्धित टोल विकास समिति वा वडा कार्यालयमार्फत नाम दर्ता गराउन सक्ने गाउँपालिकाले जनाएको छ। पदमार्गको संरक्षण, पर्यटन प्रवर्द्धन र सामुदायिक सहभागितालाई एकैसाथ जोड्ने उद्देश्यले आयोजना गरिएको अभियानमा गाउँपालिकाले सबैलाई सहभागी हुन आह्वान गरेको छ।