इटहरी स् छठ पर्वका लागि सजाइएको पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले सुनसरीमा दुई युवकलाई पक्राउ गरेको छ । हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा भएको तोडफोड घटनामा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार आइतबार साँझ करिब ७ः३० बजे घाटमा तोडफोड भएको थियो । साँझको अर्घ्य दिएर श्रद्धालुहरू घर फर्किएपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा क्षति पुर्‍याएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।  घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले स्थानीय १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई पक्राउ गरेको हो । उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर घटनाको कारण र संलग्नताका बारेमा अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले बताए ।

तोडफोडका कारण क्षति पुगेको छठ पूजास्थल पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याइएको प्रहरीले जनाएको छ । पर्वका बाँकी पूजाआजामा कुनै अवरोध नहुने भन्दै प्रहरीले श्रद्धालुहरूलाई निर्धक्क भएर सहभागी हुन आग्रह गरेको छ ।