इटहरी : सुनसरीमा अपराध नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण र सीमावर्ती गतिविधिको निगरानीका लागि प्रहरीले जिल्लाभर सीसीटीभी सञ्जाल विस्तार गर्ने योजना अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयले जिल्लाका मुख्य बजार, सडक, चोक तथा संवेदनशील क्षेत्रमा २५० वटा सीसीटीभी क्यामेरा जडान गर्ने तयारी गरेको हो । प्रस्तावित योजनाका लागि करिब ४ करोड ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तर, योजना कार्यान्वयनका लागि आवश्यक बजेट प्रहरीसँग उपलब्ध छैन । त्यसैले प्रहरीले स्थानीय सरकार र निजी क्षेत्रलाई लगानीमा सहभागी गराएर स्रोत जुटाउने प्रयास थालेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पुष्पराज मल्लका अनुसार योजनाका लागि जिल्लाका १२ वटै स्थानीय तहसँग आर्थिक तथा अन्य सहयोग मागिएको छ । निजी क्षेत्रका ४९ जना व्यवसायीसँग पनि सहकार्यको पहल भइरहेको छ । प्रहरीले तयार पारेको योजनामा सदरमुकाम इनरुवासहित बढी चहलपहल हुने बजार, सुरक्षा चुनौती रहेका सडक तथा सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । क्यामेरा जडानपछि विभिन्न स्थानमा हुने गतिविधिको निगरानी गर्न र घटनापछि अनुसन्धानका लागि दृश्य अभिलेख प्रयोग गर्न सकिने प्रहरीको अपेक्षा छ ।

प्रहरीका अनुसार सीसीटीभी सञ्जालले चोरी, लुटपाट तथा अन्य आपराधिक घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउनुका साथै सवारी दुर्घटनाको कारण पहिचान गर्न र ट्राफिक नियम उल्लंघन गर्ने गतिविधि नियन्त्रण गर्नसमेत सघाउनेछ । सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिको निगरानीमा पनि यसलाई उपयोग गर्ने योजना छ । सीसीटीभी विस्तारसँगै जिल्लाको सडक सुरक्षा व्यवस्थापनलाई पनि अभियानका रूपमा अघि बढाउने प्रहरीको तयारी छ । सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरी, ट्राफिक प्रहरी, स्थानीय तह र सरोकारवाला निकाय सम्मिलित समिति गठन गरेर समन्वयात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । प्रहरीले लागुऔषध दुर्व्यसन नियन्त्रणलाई पनि सुरक्षा योजनासँग जोडेको छ । युवापुस्तालाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने र विद्यालय, विद्यार्थी तथा अभिभावकमार्फत लागुऔषधविरुद्ध सचेतना फैलाउने योजना बनाइएको छ ।

यससम्बन्धी छलफलमा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, एसपी मल्ल, डीएसपी चन्द्रबहादुर खड्कालगायत नागरिक तथा मानवअधिकार क्षेत्रमा कार्यरत प्रतिनिधिहरू सहभागी थिए । छलफलमा सहभागीहरूले अपराध नियन्त्रण, सडक सुरक्षा र सामाजिक विकृति न्यूनीकरणका लागि प्रहरीको प्रयाससँगै स्थानीय सरकार, व्यवसायी, नागरिक समाज र सर्वसाधारणको सहभागिता आवश्यक रहेको औँल्याएका थिए । प्रहरीले अघि सारेको सीसीटीभी योजना कार्यान्वयन भए सुनसरीका प्रमुख बजार र सडकमा प्रविधिमार्फत निगरानी विस्तार हुनेछ ।