इटहरी। झण्डीडाँडा घुम्न आउने पर्यटकलाई खाना र बासको सुविधा उपलब्ध गराउने उद्देश्यले झण्डीडाँडा रम्भ्याङ सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । स्थानीयको सामूहिक सहयोगमा स्थापना गरिएको होमस्टे २०८३ सालको दसैँको अवसर पारेर असोजको अन्तिम सातादेखि सञ्चालनमा आएको हो ।

होमस्टे सञ्चालक विकास राईले पर्यटकको आवश्यकतालाई ध्यानमा राखेर सेवा सुरु गरिएको बताए । उनले भने,  रम्भ्याङस्थित धजे भञ्ज्याङमा स्थापना गरिएको होमस्टेमा सुरुमा किराना पसल तथा चिया–खाजाको व्यवस्था गरिएको थियो । अहिले पर्यटकका लागि खाना र बासको समेत प्रबन्ध गरिएको सञ्चालिका एस्तर राईले बताइन् । उनका अनुसार पर्यटकको आवश्यकताअनुसार सेवा विस्तार गरिएको हो । झण्डीडाँडा पर्यटन प्रवर्द्धन तथा व्यवस्थापन समितिका अध्यक्ष डम्बर साम्पाङले होमस्टे सञ्चालनले पर्यटकलाई थप सहज हुने बताए । 

एक सयभन्दा बढी व्यक्तिको जिन्सी तथा आर्थिक सहयोगमा ६ लाख रुपैयाँभन्दा बढीको लागतमा होमस्टे सुरु गरिएको सचिव रञ्जित राईले जानकारी दिए । उनले भने, स्थानीय समाजसेवी निमा साङपाङले होमस्टे सञ्चालनले पर्यटकलाई सुविधा थपिनुका साथै स्थानीयमा उत्साह बढेको बताए । उनका अनुसार यसले झण्डीडाँडाको पर्यटन विकासमा स्थानीयको सहभागिता र सक्रियता बढाउनसमेत मद्दत पुग्नेछ । सञ्चालकका अनुसार दसैँपछि होमस्टेमा नियमित रूपमा पाहुना तथा पर्यटक आउन थालेका छन् । होमस्टेले पर्यटकलाई खानपान र आवासको सुविधा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन र आर्थिक गतिविधिको प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।