इटहरी। नेपाली कांग्रेस मोरङको जिल्ला उपसभापति पदमा रञ्जु अधिकारी बलियो दाबेदारका रूपमा देखिएकी छन् । लामो राजनीतिक अनुभव, संगठनप्रतिको निरन्तर सक्रियता, अनुशासन र नेतृत्व क्षमताका कारण अधिकारीलाई उपसभापति पदका लागि उपयुक्त नेताका रूपमा हेरिएको छ ।

२०४६ सालदेखि नै नेपाली कांग्रेसका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएकी अधिकारीले नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन् । विद्यार्थी राजनीतिबाट पार्टी संगठनका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी उनी १४ औँ महाधिवेशनमा नेपाली कांग्रेस मोरङको कोषाध्यक्ष निर्वाचित भएकी थिइन् । कोषाध्यक्षको जिम्मेवारी सम्हाल्ने क्रममा उनले जिल्लाभरिका पार्टी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै पार्टीका नेता, कार्यकर्ता, सामाजिक क्षेत्र र स्थानीय तहसँग राम्रो सम्बन्ध स्थापित गरेकी छन् । कार्यकर्ता तथा स्थानीय नागरिकका समस्या र अप्ठ्यारामा साथ दिने नेताका रूपमा समेत अधिकारी परिचित छिन् ।

उनको संगठनात्मक सक्रियता, अनुशासन र समन्वयकारी भूमिकाका कारण पार्टीका विभिन्न तहका नेताहरूले रुचाएको नेताका रूपमा उनको चर्चा हुने गरेको छ । आफ्नो कार्यकालमा जिल्लाभरिका पार्टी गतिविधिमा सक्रिय सहभागिता जनाउँदै सबै पक्षसँग सम्बन्ध कायम राख्न सफल भएकी अधिकारीलाई उपसभापति पदका लागि उपयुक्त विकल्पका रूपमा हेरिएको छ । मोरङमा सम्पन्न विभिन्न निर्वाचनहरूमा पार्टीलाई जिताउनसमेत अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारको पक्षमा सक्रिय भूमिका निर्वाह गरेकी उनी नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा सुरुदेखि नै सक्रिय थिइन् । लामो राजनीतिक अनुभव, संगठनभित्रको पहुँच, कार्यकर्तासँगको निकट सम्बन्ध र समन्वयकारी क्षमताका कारण आगामी जिल्ला अधिवेशनमा अधिकारीको उपसभापति बन्ने सम्भावना बलियो देखिएको छ ।