इटहरी । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपमा नेपाल आर्मीले गोलको वर्षा गरेको छ । सोमबार राति धरान–१६ स्थित रंगशालामा भएको खेलमा आर्मीले बागमती युथ क्लबलाई ९–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

आर्मीको शानदार जितमा दीपा शाहीले चार गोल गरिन् भने जेनिफर रानाले ह्याट्रिक पूरा गरिन्। त्यस्तै, विमला चौधरी र तुलसा बोहराले एक–एक गोल थपिन्। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको आर्मीले पहिलो हाफमै सात गोल गरेको थियो। खेलको पहिलो मिनेटमै दीपा शाहीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्। त्यसपछि दोस्रो, पाँचौँ, २३ औँ र ३८ औँ मिनेटमा गोल गर्दै उनले व्यक्तिगत चार गोल पूरा गरिन्। विमला चौधरीले १६ औँ मिनेटमा गोल गरिन्। जेनिफर रानाले १९ औँ र ३३ औँ मिनेटमा गोल गर्दै आर्मीको अग्रता फराकिलो बनाइन्। दोस्रो हाफको ३० औँ मिनेटमा थप एक गोल गर्दै जेनिफरले ह्याट्रिक पूरा गरिन्। खेलको ४० औँ मिनेटमा तुलसा बोहराले गोल थपेपछि आर्मी ९–० को जित निकाल्न सफल भयो। खेल अवधिभर आर्मीले आफ्नो दबदबा कायम राख्दा बागमती युथ क्लबले गोल फर्काउने अवसर समेत पाएन ।

चार गोल गरेकी दीपा शाही खेलको प्लेयर अफ द म्याच घोषित भइन्। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्। यो जितसँगै सेमिफाइनलमा प्रवेश गरेको नेपाल आर्मीले अब आफ्नो चिर प्रतिद्वन्द्वी विभागीय टोली एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। दुई विभागीय टोलीबीचको यो भिडन्तलाई प्रतियोगिताको प्रतीक्षित खेलका रूपमा हेरिएको छ। डी–१९ क्लबको  आयोजनामा भइरहेको प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित आठ क्लब सहभागी छन्। मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफी सहित पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउनेछन्। उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

धरानमा पहिलोपटक आयोजना भइरहेको रात्रिकालीन महिला गोल्डकपमा दर्शकको आकर्षण समेत बढ्दै गएको छ। प्रतियोगिता अन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र काँकडभिट्टा फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ ।