इटहरी। नेपाली कांग्रेसले आगामी पुस पहिलो साता जिल्ला अधिवेशन र त्यसको तीन–चार दिनपछि प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ ।
कांग्रेस सभापति गगन थापाले जिल्ला र प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिँदै पुस पहिलो साताभित्र जिल्ला अधिवेशन र त्यसलगत्तै प्रदेश अधिवेशन गर्ने बताएका हुन् । यससँगै कांग्रेसको कोशी प्रदेशमा नयाँ नेतृत्व चयनको प्रक्रिया पनि अघि बढ्ने भएको छ । प्रदेश अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । कोशीका १४ जिल्लामा अधिवेशनको तयारीसँगै प्रदेश सभापतिका आकांक्षीहरू पनि सक्रिय हुन थालेका छन् । प्रदेश सभापतिका लागि वर्तमान सभापति उद्धव थापा, प्रदेश उपसभापति रमेशजंग रायमाझी, मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बू, प्रदेश महामन्त्री उमेश थापा र सहमहामन्त्री खड्ग फागोको नाम चर्चामा छ ।
कोशीको नेतृत्वमा पाँच आकांक्षी
वर्तमान सभापति उद्धव थापा पुनः नेतृत्वमा दोहोरिने वा नयाँ व्यक्तिलाई अवसर दिने भन्ने विषयमा स्पष्ट भइसकेका छैनन् । उनीनिकट नेताहरूले भने थापा पुनः सभापति बन्न इच्छुक रहेको बताउँदै आएका छन् । प्रदेश उपसभापति रमेशजंग रायमाझी पनि सभापतिका आकांक्षी हुन् । राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका रायमाझी प्रदेश संगठनमा लामो समयदेखि सक्रिय छन् । मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बूको नाम पनि प्रदेश सभापतिका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ । उनी यसअघि संघीय सरकारमा मन्त्रीसमेत भइसकेका छन् । प्रदेश महामन्त्री उमेश थापा र सहमहामन्त्री खड्ग फागोले पनि नेतृत्वका लागि तयारी गरिरहेको कांग्रेस वृत्तमा चर्चा छ । फागो यसअघि उर्लाबारी नगरपालिकाका प्रमुख थिए । यी नेताहरूबीच सहमति जुट्ने वा निर्वाचनमार्फत नेतृत्व चयन हुने भन्ने विषय अहिले नै टुंगिएको छैन । प्रदेश अधिवेशनका प्रतिनिधिहरूको समर्थन जुटाउन आकांक्षीहरूले जिल्ला तहमा आफ्नो सक्रियता बढाउन थालेका छन् ।
२८ निर्वाचन क्षेत्रको प्रभाव
कोशी प्रदेशमा १४ जिल्ला र प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र छन् । प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गर्नेछन् । प्रदेश सभापतिका आकांक्षीहरूका लागि मोरङ, झापा, सुनसरी, इलामलगायत जिल्लाका प्रतिनिधिहरूको समर्थन महत्त्वपूर्ण हुनेछ । विशेषगरी बढी प्रतिनिधित्व हुने जिल्लाको समर्थनले नेतृत्व चयनको परिणाममा प्रभाव पार्न सक्छ । जिल्ला अधिवेशनको परिणामलाई प्रदेश नेतृत्वका आकांक्षीहरूको सांगठनिक प्रभावसँग जोडेर पनि हेरिएको छ । जिल्ला नेतृत्वमा आफ्नो पक्षका नेता निर्वाचित भए प्रदेश अधिवेशनमा समर्थन जुटाउन सहज हुने नेताहरूको बुझाइ छ । कांग्रेसले केन्द्रीय नेतृत्व चयन गरिसकेपछि अब जिल्ला र प्रदेश तहका अधिवेशनको तयारी अघि बढाएको हो । केन्द्रीय निर्वाचन समितिले अधिवेशनको औपचारिक कार्यतालिका सार्वजनिक गरेपछि कोशीमा पनि नेतृत्व चयनको प्रतिस्पर्धा थप स्पष्ट हुनेछ ।


