इटहरी। हराएको बाख्रा खोज्न जंगल छेउ पुगेका सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरका ७२ वर्षीय गोपी चौधरीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।
आइतबार साँझ हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरी प्रमुख एसपी रुपक खड्काले जानकारी दिए। चौधरी गाउँका अन्य चार–पाँच जनासँगै हराएको बाख्रा खोज्न निस्किएका थिए। खोज्दै जाँदा उनीहरू गाउँभन्दा पूर्व–उत्तर दिशामा रहेको जंगल छेउको गोठतिर पुगेका थिए। स्थानीय दिलीप चौधरीका अनुसार त्यही बेला जंगल छेउमा हात्ती कराउन थालेको थियो। हात्तीको आवाज सुनेपछि गोपीले पनि हात्तीकै जस्तो आवाज निकालेर जोडले कराएको उनले बताए। त्यसपछि उनीतिर आएको हात्तीले लखेट्दै आक्रमण गरेको दिलीपको भनाइ छ।
एसपी खड्काका अनुसार घटनाबारे प्रहरीलाई आइतबार राति करिब ८ बजे जानकारी प्राप्त भएको थियो। ‘उहाँ हराएको बाख्रा खोज्न जानुभएको रहेछ । हात्तीले आक्रमण गरेछ,’ उनले भने। आक्रमणबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल प्रादेशिक अस्पताल लहान पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनापछि विरनगर र आसपासका बस्तीमा त्रास बढेको छ। जंगल आसपासका क्षेत्रमा पछिल्ला दिनमा जंगली हात्तीको ओहोरदोहोर बढ्दै गएको स्थानीय बताउँछन्। घरपालुवा जनावर हराउँदा खोज्न जंगल छेउ पुग्नुपर्ने बाध्यता र जंगली जनावरको आक्रमणको जोखिमले स्थानीयको चिन्ता बढाएको दिलीपले बताए।


