इटहरी । एकपछि अर्को गोल, मैदानमा रेखा पौडेलको एकछत्र राज ! रेखाको अविश्वसनीय प्रदर्शनसँगै नेपाल पुलिस क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपमा गोलको वर्षा गरेको छ ।
रेखाले एक्लैले ६ गोल गर्दै व्यक्तिगत दोहोरो ह्याट्रिक पूरा गरेपछि पुलिसले काकडभिट्टा वुमेन्स क्लब झापालाई ८–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ। म्ांगलबार धरान रंगशालामा भएको तेस्रो क्वार्टरफाइनलमा रेखा पुलिसको जितकी मुख्य नायक बनिन्। उनले २७ औँ, ३९ औँ, ४५ औँ, ४५+१औँ, ५३ औँ र ८६औँ मिनेटमा गोल गरिन्। सम्झना लावतीले १९ औँ र मिना देउवाले ४२ औँ मिनेटमा गोल थपेपछि पुलिसको जित ८–० मा पुग्यो। ६ गोल गरेकी रेखा पौडेल प्लेयर अफ द म्याच घोषित भइन् ।
उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्। अब पुलिसले फाइनल प्रवेशका लागि मंसिर ३ गते स्वर्णिम फुटबल क्लब धरानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल भने मंसिर २ गते हुँदैछ । पहिलो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ फुटबल क्लब काठमाडौं र त्रिभुवन आर्मी क्लब काठमाडौं आमनेसामने हुनेछन् । विभागीय टोलीबीचको यो भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ। डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा नेपालका तीन विभागीय टोली सहित आठ क्लब सहभागी छन्।
मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउनेछन्। उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।


