इटहरी । गाउँमै दुध बिक्री गर्ने बजार र नियमित भुक्तानीको व्यवस्था भएपछि तेह्रथुमको म्याङलुङ नगरपालिका–६, हरिसे तथा आसपासका क्षेत्रका किसान गाईपालनतर्फ आकर्षित हुन थालेका छन् ।

स्थानीयस्तरमा छुर्पी उद्योग सञ्चालनमा आएपछि दुध बिक्रीका लागि बजार र भुक्तानीका लागि लामो समय कुर्नपर्ने समस्या घटेको छ । यसअघि दुध बिक्रीबापतको भुक्तानीमा समस्या झेल्दै आएका किसानले अहिले घरबाटै दुध बिक्री गरी मासिक रूपमा भुक्तानी पाउन थालेका छन् । म्याङलुङ नगरपालिका–६, हरिसेमा करिब दुई वर्षअघि सञ्चालनमा आएको हाम्रो डेरीले स्थानीय किसानबाट दैनिक दुध सङ्कलन गर्दै आएको छ । फुर्दुकी शेर्पा र किपा शेर्पा दम्पतीले दुई वटा गाईबाट सुरु गरेको व्यवसाय अहिले छुर्पी तथा नौनी उन्पादन गर्ने उद्योगका रूपमा विस्तार भएको छ । उद्योगमा हालसम्म एक करोड २० लाख रुपियाँभन्दा बढी लगानी भइसकेको फुर्दुकीले बताउनुभयो । उद्योगले हरिसे, चैते, मेक्चना, लसुने, अम्फुवा, काँडे, सोल्मालगायत आसपासका क्षेत्रबाट दैनिक दुई हजार लिटरसम्म दुध सङ्कलन गर्दै आएको छ । सङ्कलित दुधबाट छुर्पी र नौनी उन्पादन गरिँदै आएको छ । स्थानीय पूर्ण शेर्पाका अनुसार गाउँमा डेरी सञ्चालनमा आएपछि पशुपालनबाट हुने आम्दानीको नयाँ अवसर सिर्जना भएको छ । “पहिले बेरोजगार जस्तै थियौँ । अलि अलि बाख्रा र गोरु पाल्ने गथ्र्यौं । गाउँमा डेरी खुलेपछि बाख्रा हटाएर दुई वटा उन्नत जातका गाई पाल्दा मासिक २० हजारदेखि ५० हजार रुपियाँसम्मको दुध बेच्ने गरेको छु,” उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँमा व्यावसायिक रूपमा गाई नपाल्ने परिवार भेट्टाउनै मुस्किल हुन थालेको छ । 

म्याङलुङ नगरपालिका–६, सुर्केमा रहेको नवजीवन डेरी सहकारीले पनि स्थानीय किसानले उत्पादन गरेको दुध स्थानीय छुर्पी उद्योगलाई बिक्री गर्दै आएको छ । सहकारीका सदस्य यादव अधिकारीका अनुसार सहकारीले दैनिक करिब छ सय लिटर दुधबाट कुराउनी उत्पादन गर्दै आएको छ । सहकारीमा एक सयभन्दा बढी किसान आबद्ध छन् । उद्योग सञ्चालक फुर्दुकी शेर्पाका अनुसार उद्योगबाट मासिक करिब २० क्विन्टल छुर्पी र सात क्विन्टलसम्म नौनी बिक्री हुँदै आएको छ । उत्पादित छुर्पी प्रतिकिलो एक हजार १५० रुपियाँमा बिक्री हुने गरेको छ । उक्त छुर्पी झापाको बिर्तामोड हुँदै भारत निर्यात हुन्छ भने भने नौनी जिल्लाबाहिरका बजारमा पनि बिक्री हुन्छ । उद्योग सञ्चालकका अनुसार नेपाली छुर्पी भारत हुँदै युरोप र अमेरिकासम्म पुग्ने गरेको छ तर नेपाली उत्पादन आफ्नै ब्रान्डमा अन्तर्राष्ट्रिय बजारमा पु¥याउन नसक्दा भारतीय व्यापारीमार्फत बिक्री गर्नुपर्ने बाध्यता रहेको उहाँहरूको गुनासो छ ।