इटहरी। सवारीसाधनको गति नियन्त्रण गर्न बनाइएका स्पिड ब्रेकर नै दुर्घटनाको कारण बन्न थालेका छन्। मापदण्डविपरीत र चालकले सहजै देख्न नसक्ने गरी बनाइएका यस्ता संरचनाले दुर्घटनाको जोखिम बढाइरहेका बेला झापाको अर्जुनधारामा बम्परमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

अर्जुनधारा नगरपालिका–७ स्थित पिपल चोकमा शनिश्चरे–मिलडाँडा सडकखण्डमा भएको दुर्घटनामा अर्जुनधारा–५ का २७ वर्षीय सन्त राईको मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार कात्तिक २९ गते राति १०ः४० बजे शनिश्चरेबाट मिलडाँडातर्फ जाँदै गरेको बा ९६ प १३२९ नम्बरको मोटरसाइकल सडकमा रहेको बम्परमा ठोक्किएको थियो। बम्परमा ठोक्किएपछि मोटरसाइकलको पछाडि सवार राई उछिट्टिएर सडकमा खसेका थिए।

टाउको तथा हातखुट्टामा चोट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। उपचारका क्रममा बुधबार साँझ ७ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक अर्जुनधारा–७ का ३२ वर्षीय सञ्जय विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चौकी शनिश्चरेका वरिष्ठ नायब निरीक्षक हिमाल पोखरेलको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको हो। दुर्घटनामा परेको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यो घटनाले सडकमा जथाभावी बनाइएका स्पिड ब्रेकरको मापदण्ड र नियमनमाथि प्रश्न उठाएको छ। गति नियन्त्रणका लागि बनाइने बम्परमा पर्याप्त संकेत नहुँदा, विशेषगरी रातको समयमा दुर्घटनाको जोखिम बढ्न सक्छ। सडकको प्रकृति र आवश्यकताअनुसार सम्बन्धित निकायको स्वीकृति लिएर मात्रै गति नियन्त्रणका संरचना बनाउनुपर्छ। विद्यालय, अस्पताल तथा घना बस्ती क्षेत्रमा गति नियन्त्रण आवश्यक भए पनि त्यहाँ प्राविधिक मापदण्डअनुसार निश्चित उचाइ र चौडाइका स्पिड ब्रेकर निर्माण गर्नुपर्छ। चालकले टाढैबाट देख्न सक्ने गरी चेतावनी संकेत राख्नुका साथै राति पनि स्पष्ट देखिने रिफ्लेक्टर वा चिन्हको व्यवस्था गर्नुपर्छ।

स्थानीय तह र सडकको जिम्मेवारी पाएका निकायबीच समन्वय तथा नियमन प्रभावकारी नहुँदा विभिन्न सडकमा जथाभावी बम्पर बनाउने प्रवृत्ति देखिँदै आएको छ। नियमित अनुगमन नहुँदा चालकले अकस्मात् अवरोध सामना गर्नुपर्ने अवस्था छ। अर्जुनधाराको घटनाले सडकका बम्परको मापदण्ड जाँच, जोखिमयुक्त संरचनाको पहिचान र आवश्यक सुधार गर्नुपर्ने देखाएको छ। दुर्घटनापछि मात्रै चासो देखाउनुभन्दा सम्भावित जोखिमलाई समयमै हटाउन सम्बन्धित निकायको ध्यान जान आवश्यक छ।