इटहरी। झापाको बाह्रदशी गाउँपालिका–५ मा  धान काट्ने मेसिन जडित गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधवार राति करिब १०ः४० बजे बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा दुर्घटना भएको हो । 

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार राजगढबाट चारपानेतर्फ आउँदै गरेको प्रदेश–१–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेहरूमा बाह्रदशी गाउँपालिका–५ चकचकीका गोपाल ताजपुरिया र बाह्रदशी–२ बुट्टावारीका अशोक राजवंशी रहनुभएको छ । 

दुर्घटनापछि धान काट्ने मेसिन गाडी छाडेर चालक फरार भएका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।