इटहरी । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अदालतको फैसला कार्यान्वयनका क्रममा तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी ४२ लाख २२ हजार २८९ रुपियाँ जरिवाना असुल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले मङ्सिर ८ गते फुङ्लिङ नगरपालिका–५ स्थित वीरेन्द्र चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । अदालतको विभिन्न मितिको फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका प्रतिवादीलाई खोजतलासका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा बैङ्किङ कसुर मुद्दाका दुई जना र बहुविवाह मुद्दाका एक जना रहेका छन् । बैङ्किङ कसुर मुद्दामा मिक्वाखोला गाउँपालिका–२ का योगेन्द्रबहादुर थापाले ३८ लाख ९१ हजार ३०० रुपियाँ र फुङ्लिङ नगरपालिका–५ का निमा छिरिङ तामाङले तीन लाख २३ हजार ९८९ रुपियाँ ७१ पैसा जरिवाना तिरेका छन् ।
त्यस्तै, बहुविवाह मुद्दामा फुङ्लिङ नगरपालिका–५ का परिवर्तित नाम ताप्लेजुङ–२८ ले सात हजार रुपियाँ जरिवाना तिरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ताप्लेजुङमा उपस्थित गराइएको थियो । जरिवाना बुझाएपछि उनीहरू छुटेका छन् ।


